सिमेन्टको प्याकेजिङ साइज घटाउन परेन आवेदन



काठमाडौं,फागुन २३ । सरकारले सिमेन्टको प्याकेजिङ साइज विभिन्न प्रकारको निर्धारण गरे पनि उत्पादक कम्पनीहरूले यसका लागि हालसम्म आवेदन दिएका छैनन् । सानो परिमाणका प्याकेजिङ साइजमा पनि उपभोक्ताहरूले सिमेन्ट किन्न चाहेको र माग गर्दै आएको भए पनि सिमेन्ट उद्योग कम्पनीहरूले सानो परिमाणको प्याकेजिङ साइजका लागि आवेदन दिएका छैनन् । हाल नेपाली बजारमा सिमेन्टको प्याकेजिङ साइज ५० किलोग्राम (केजी) मात्रै छ ।

नीतिगत व्यवस्था नहुँदा सानो परिमाणको प्याकेजिङ साइजमा उद्योगीहरूले सिमेन्ट बजारमा ल्याउन पाएका थिएनन् । सरकारले नियमावली बनाएर राजपत्रमा प्रकाशित गरेको ९ महीना बित्दा पनि कुनै उद्योगले कम परिमाणको प्याकेजिङ साइजका लागि आवेदन नदिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जानकारी दिएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनी गत जेठमै राजपत्रमा सूचना प्रकाशित भइसकेको भए पनि अहिलेसम्म एउटा पनि प्याकेजिङ साइजका लागि निवेदन नपरेको बताए ।

हाल नेपाली बजारमा प्रतिबोरा ५० किलोग्राम (केजी) परिमाणको प्याकेजिङ साइजमा सिमेन्ट विक्री हुँदै आएको छ । प्याकेजिङ साइज निर्धारण नहुँदा सानो परिमाणका सिमेन्टका बोराहरू उत्पादकहरूले उत्पादन गर्न पाएका थिएनन् । स्ट्यान्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) नियमावली गत जेठ ५ गते सरकारले राजपत्रमा प्रकाशित गरेको थियो ।  त्यसअनुसार ५० केजीका साथै उत्पादकहरूले क्रमशः ५, १० २०, २५ केजी परिमाणका सिमेन्टका बोरा बजारमा ल्याउन सक्ने व्यवस्था छ ।

यी साइजमा सिमेन्ट प्याक गर्ने अनुमति दिन विभाग तयार रहेको भन्दै पुडासैनीले भने, ‘कानूनी प्रावधान भइसकेकाले दिन समस्या नभए पनि उद्योगीहरूले लिनुभएको छैन, यस्तो माग हुनासाथ दिनेछौं ।’ कहिलेकाहीँ उपभोक्ताले थोरै परिमाणमा सिमेन्ट किन्न चाहेमा विक्रेताले ५० केजीको बोरा खोलेर खुला विक्री पनि गर्दै आएका हुन्छन् । तर, साना प्याकेजका बोरामा सिमेन्ट प्याकेजिङ गर्दा उपभोक्ताले सहज रूपमा पाउने, दुर्गम भेगमा सिमेन्ट नबिगारी बोकेर लैजान सकिने र ससानो मर्मतसम्भारका लागि ठूलो बोरा किन्नुपर्ने झन्झटबाट उपभोक्तालाई मुक्ति मिल्नेछ ।

व्यवसायीहरूले पनि ससानो मर्मतसम्भार तथा थोरै परिमाणको सिमेन्ट खोज्ने ग्राहकका लागि सानो प्याकेजिङ साइज आवश्यक हुने कुरा उठाएकाले र उपभोक्तालाई पनि सहज होस् भन्ने हेतुले यस्तो व्यवस्था गरिएको पुडासैनीले बताए । यद्यपि गुणस्तर भने ओपीसी र पीपीसी सिमेन्टकै हुनेछ । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले अत्यन्त न्यून मात्रामा माग हुने भएकाले अहिले नयाँ प्याकेजिङ साइजका लागि पहल नगरिएको बताए । उपभोक्ताको माग हुनासाथ त्यसका लागि पहल हुने उनको भनाइ छ ।

प्याकेजिङमा विविधीकरण गर्दा उपभोक्ताले पनि ससानो मर्मतसम्भारका लागि सिमेन्ट माग गर्न सक्ने भएका प्याकेजिङ साइजका लागि विस्तारै आवेदन दिनेको संख्या पनि बढ्ने व्यवसायीहरूले बताए ।

हाल नेपालमा ६२ भन्दा बढी सिमेन्ट तथा क्लिंकर उत्पादन गर्ने उद्योगहरू रहेका छन् । उत्पादन क्षमता १५ लाख मेट्रिक टनभन्दा बढिरहेको छ, भने माग १० लाख मेट्रिक टन रहेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्