अब विद्युतीय प्रणालीमा किसानको सूची



काठमाडौं,फागुन २३ । सरकारले विद्युतीय प्रविधिमा आधारित किसान सूचीकरण व्यवस्थापन प्रणालीको थालनी गरेको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपि ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कृषिक्षेत्र अब आधुनिक युगमा प्रवेश गरेको बताउनुभयो । यस प्रणालीको सहयोगबाट कुन किसानलाई कस्तो सहयोग गर्नुपर्नेछ सबै थाहा हुने भन्दै प्रधानमन्त्री ओलीले अब सरकारले व्यावसायिक शीप विकासका लागि जिल्ला जिल्लामा तालीम सञ्चालन गर्नुका साथै कृषिमा आधारित उद्योग खोल्न सहयोग गर्ने बताउनुभयो ।

किसान सूचीकरण व्यवस्थापन प्रणालीको सहयोगबाट किसानका सूचना एवम् विवरणहरू एकीकृत रूपमा व्यवस्थापन गरी किसानको पहिचान गर्ने र राज्यबाट किसानलाई उपलब्ध हुने सेवासुविधा तथा विकास योजनासँग आबद्ध गरिनेछ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निर्माण गरेको विद्युतीय प्रविधिमा आधारित तथ्यांक भण्डारण गर्ने प्रणाली नै किसान सूचीकरण व्यवस्थापन प्रणाली हो ।यस प्रविधिको प्रयोगबाट किसानको पहिचान प्रदान गर्न, तिनै तहका सरकारका लागि कृषिसम्बन्धी योजना, कार्यक्रम तथा नीति निर्माण गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस प्रणालीलाई एकद्वार प्रणालीका रूपमा विकास गरिनेछ । मन्त्रालय तथा मातहतका विभिन्न निकायबाट तयार गरिएका विद्युतीय सूचना प्रणालीहरू जस्तै रासायनिक मल व्यवस्थापन प्रणाली, डिजिटल इनाबल्ड सिड सिस्टम, डिजिटल स्वायल म्यापलगायत सुविधा यसै प्रक्रियामा आबद्ध गरिनेछ ।

दीर्घकालीन रूपमा राष्ट्रिय परिचयपत्र तथा नागरिक एप तथा जमीनको डिजिटल अभिलेखसँग आबद्ध गर्न, कृषक परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्न, मोबाइल एपको विकास र किसानलाई प्राविधिक सेवा प्रदान गर्नसमेत यो प्रविधि सहयोगी हुनेछ ।

कार्यक्रममा कृषिमन्त्री पद्माकुमारी अर्यालले अब सरकारबाट उपलब्ध हुने सेवासुविधा वास्तविक किसानले पाउने बताइन् । किसानको नाममा राज्यको थुप्रै सम्पत्ति सकिए पनि वास्तविक किसान लाभान्वित नभएको गुनासो आइरहेकोमा सूचीकरण भएपछि यस्तो समस्या नआउने उनले दाबी गरिन् । ‘किसानहरूको हकहितका लागि यो प्रणाली तयार पारेका हौं । अब सबै किसानका गुनासो आजैबाट अन्त्य भयो,’ उनले भनिन् । यससँगै वितरणमा भएको झमेला, संघ र प्रदेशले गरेका कार्यक्रममा हुने दोहोरोपनाको अन्त्य हुने विश्वास उनले व्यक्त गरिन् । किसान सूचीकरण व्यवस्थापन प्रणाली कार्यक्रम सञ्चालन गर्न यूरोपेली संघले सहयोग गरेको छ । यस प्रणालीमार्फत किसानका सूचना तथा विवरणहरू एकीकृत रूपमा व्यवस्थापन गरी किसानलाई पहिचान दिलाउन विद्युतीय प्रविधिमा आधारित तथ्याङ्क भण्डारण गर्ने प्रविधिको विकास गरिएको मन्त्रालयले बताएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्