नुवाकोटमा अरुको समय सकियो, अब यो ठाउँ मेरो हो- जगदिश्वरनरसिंह केसी



नुवाकोट,फागुन २२ । नेपाली काङ्ग्रेस नुवाकोटका सभापति तथा संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसीले नुवाकोटमा अन्य राजनीतिकर्मीको समय सकिएको बताएका छन । शनिबार नुवाकोटको लिखु गाउँपालिकाद्वारा आयोजित प्रथम छहरे महोत्सव तथा व्यापार मेला समापन समारोहमा बोल्दै नेता केसीले हालसम्म क-कस्ले कति योगदान दिएको भन्ने बारे जनताले राम्रोसँग मूल्यांकन गरेकाले अब यस क्षेत्रमा आफूलाई नै जनताले चाहेको बताए।

उद्घाटन समारोहमा राजनीति पार्टीका अग्रज अनुपस्थित रहेको स्मरण गर्दै नेता केसीले भने ‘उद्घाटन समयमा बुढाखाडाको काम छैन भनिएछ,युवा उमेरभर राजनीतिमा होमिएका ती अर्जुननरसिंह रामशरणलाई अपमानित गर्न अलिकति पनि सुहाउँदैन।’ उनीहरुको योगदानको यहाँका जनताले सधैंव साथ र समर्थन गरेको बताउदै नेता केसीले उनीहरुको विकल्प आएछ भने आफुनै यो क्षेत्रको नेतृत्वकर्ता हुने दावी गरे। नेता केसीले भने ‘यो क्षेत्र अब मेरो हो, यहाँ मेरो धेरै रगत र पसिना बगेको छ,जुन यहाँका जनताले बुझेका छन्।’

देशको राजनीति र नुवाकोटको विकासप्रति असन्तुष्ट देखिएका नेता केसीले प्रश्न गरे- तीन वर्षको विकासमा के विकास भयो? तीन वर्ष अगाडि यो गाउँमा के विकास थियो । आज नयाँ सरकारले के ल्यायो । यहाँ चुनाव जित्ने सांसदहरुले के ल्यायो? यो प्रदेशमा जित्नेले के प्राप्त गर्‍यो । प्रदेशमा जित्नेले प्राप्त गर्‍यो ? के गर्‍यो ? १७ करोड रुपैयाँ आलु जोनको लागि लियो । एकलौटी आफूमात्रै खायो । जनतालाई ठग्यो । किसानलाई ठग्यो । आज जनताले केही पाउन सकेनन् । जनताले न विकास पाए । न निर्माणका काम पाए । न खानेपानीका सिँचाइ न विकासका स्कुल न स्वास्थ्य चौकी । जनताले खोजेको प्राप्त गर्न सकेनन् ।

नुवाकोट मात्रै होइन नेपाली जनता आक्रान्त छन् । यी कम्युनिस्टहरु भनेको वास्तवमै जनतालाई झुक्याउने ढाँट्ने र छल्ने ? भोट लिने अनि माथि पुगेपछी कहाँबाट भ्रष्टाचार गर्न सकिन्छ कहाँबाट पैसा कमाउन सकिन्छ । त्यो भ्रष्टाचार गर्ने ठाउँको खोजि गर्ने मात्र उपलब्धि कम्युनिस्ट सरकारको भएको बताए।

प्रतिक्रिया दिनुहोस्