पहिलो दिन १ लाख ३८ हजारले भरे ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ



काठमाडौं,फागुन २२ । शुक्रवारदेखि विक्रीमा आएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिन १ लाख ३८ हजार ६३ जनाको आवेदन परेको छ ।

शुक्रवार अपरान्ह ३ बजेसम्म यी आवेदकहरुबाट ३५ लाख १४ हजार ६२० कित्ताका लागि आवेदन दिएको विक्री प्रबन्धक एनएमबि क्यापिटलको भनाइ छ । 

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्ये ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्ये ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ । 

यसअघि फागुन २३ गतेदेखि विक्री खुला गर्ने मिति तय गरेको कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको निर्देशनमा दुई दिन अघिनै विक्री खुला गरेको हो । छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म विक्रीमा रहने यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । 

विक्री प्रबन्धकसँगै आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको यस आईपीओलाई केयर रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित अवस्थाको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ । 

जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी रू. २ अर्ब कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो । हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. १ अर्ब ५४ करोड रहेको कम्पनीको आईपीओ निष्कासन पश्चात चुक्तापूँजी रू. २ अर्ब २० करोड पुग्नेछ ।

कम्पनीको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष ०७६/७७ सम्म प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव ९४ र प्रतिशेयर आम्दानी रू. १२ दशमलव ६५ रहेको छ । यस अवधिसम्म कम्पनीको खुद नाफा रू. २८ करोड ६४ लाख १ हजार छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्