छहरे महोत्सव: आजको आकर्षक प्रस्तुति बद्री पंगेनीको रहने



नुवाकोट,फागुन २१ । फागुन १४ गते शुक्रबारदेखि सुरु भएको ‘प्रथम ऐतिहासिक छहरे महोत्सव तथा ब्यापार मेला’को आज आठौं दिनको तयारी गरिएको छ। एक समारोहका बीच शुक्रबार उद्घाटन भएको महोत्सवमा विविध सास्कृतिक कार्यक्रमहरु समेत भैरहेका छन।

आज शुक्रबार अर्थात महोत्सवको आठौं दिनमा हुने मेलामा लोकदोहोरी तथा हास्य जगतका चर्चित कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ। महोत्सव संयोजक सानू केसीका अनुसार शुक्रबार चर्चित गायक बद्री पंगेनी, सबिना चौलागाईं र सबिता ढुंगानाको प्रस्तुति रहनेछ। त्यस्तै हास्य कलाकार शिवहरी नेपाल(ठेकेदार), अस्मिता बस्नेत (गौथली) र रबिन दाहाल(रिठे) को बेजोड प्रस्तुति रहनेछ भने स्थानीय चर्चित लोकदोहोरी गायक गायिकाको प्रस्तुतिसहित विविध मनोरञ्जनात्मक कार्यक्रम समेत रहने आयोजकले जनाएको छ ।

दर्शक निरन्तर बढ्दै

प्रथम ऐतिहासिक छहरे महोत्सव तथा ब्यापार मेलामा दर्शकको संख्या निरन्तर बढिरहेको पाइएको छ। उद्घाटन सत्र लगत्तै दर्शक संख्यामा कमी आइरहेको बताइएको थियो।तर पछिल्लो दिनमा भने दर्शक संख्यामा वृद्धि भैरहेको आयोजकले जनाएको छ। पहिलो दिन निशुल्क प्रवेश पाएका दर्शकले दोस्रो दिनदेखि टिकटमा प्रवेश गरेका छन्।

टिकट ब्यवस्थापन समितिका प्रकाश भण्डारीका अनुसार महोत्सवको दोस्रो दिन शनिबार ११ सय टिकट वितरण भएको थियो। तेस्रो दिन आइतबार ४२५ जनाले महोत्सव अवलोकन गरेका थिए भने त्यो संख्या निरन्तर वृद्धि भैरहेको बताइएको छ। महोत्सवको चौथो दिन १३ सय दर्शक महोत्सवमा प्रवेश गरेका छन् भने पाचौं दिन १७ सय र छैटौं दिन १६ सय दर्शकले प्रवेश गरेको भण्डारीले बताए।

महोत्सवमा गत शनिबार मात्र ६ हजार सवारीसाधन पार्किङ भएको उल्लेख छ।सवारी पार्किङ ब्यवस्थापनका सुमन भण्डारीले साझापथसंग भने- ‘आउने शनिबारसम्म दर्शक संख्या वृद्धि हुने देखिन्छ।’

हेलिकप्टर र प्याराग्लाईडिङ कतिले चढे?

महोत्सवमा आकर्षकको रुपमा हेलिकप्टरबाट गोसाइँकुण्ड यात्रा समेत तय गर्न सकिन्छ। महोत्सव स्थलदेखी गोसाइँकुण्डसम्म यात्रा गर्न चाहनेले १५ हजार रुपैयाँ खर्चिनुपर्नेछ।

हेलिकप्टर टिकट ब्यवस्थापक बिनोद तामाङका अनुसार छहरे महोत्सवमा हालसम्म १४ फ्लाइटका ७० यात्रु गोसाइँकुण्ड पुगेका छन्। शुक्रबार ६ फ्लाइट उड्ने तयारीमा रहेका छन् । प्रभु हेलिकप्टरमार्फत गरिएको उडानबाट नुवाकोट दरबार लगायत नुवाकोटका रमणीय स्थानको अवलोकन समेत गर्न सकिन्छ। त्यस्का लागि ५ हजार रकम खर्चिनु पर्नेछ।

छहरे महोत्सवमा प्याराग्लाइडिङ गर्दै महोत्सवको अवलोकन गर्न सकिन्छ। नेपाल प्याराग्लाईडिङ एसोसिएसनले नुवाकोटको पर्यटकीय स्थान सुइँरे चउरदेखी महोत्सव स्थानसम्म प्याराग्लाईडिङ गर्नसक्ने ब्यवस्था समेत मिलाएको छ। छहरे महोत्सवमा हालसम्म १० जनाले प्याराग्लाईडिङको मजा लिदै महोत्सव अवलोकन गरेका छन् ।

एसोसिएसनका प्याराग्लाइडिङ पाइलट बीबी सिंङतानका अनुसार महोत्सव स्थान र उडान दुरी टाढा भएकाले समेत यात्रु संख्यामा कमि आएको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्