विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं,फागुन २० । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले वार्तामा भएको सहमति अनुसार प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच भएको ३ बुँदे सहमतिलाई पनि अनुमोदन गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार दुबै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन भैसकेको छ।
सरकार र विप्लव समूहबीच बिहीबार तीन बुँदे सहमति भए लगत्तै विप्लव भोलि शुक्रबार २१ गते सार्वजनिक हुँदै छन् ।
भोलि राजधानीमा हुने एक कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्तरुपमा सम्बोधन गर्ने भएका छन् । विप्लव पछिल्लो दुई वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । विप्लव समूहमाथि ओली नेतृत्वको तत्कालीन सरकारले नै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।