बुधवारदेखि मोबाइल बैंकिङबाट २ लाख र इन्टरनेट बैंकिङबाट २० लाख कारोबार गर्न पाउने व्यवस्था



काठमाडौं, फागुन २० । विद्युतीय भुक्तानीलाई उच्च प्राथमिकता दिएको नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत हुने दैनिक कारोबार सीमा बढाएको छ भने धितोपत्रको कारोबारका लागि तोकिएको सीमा नै हटाएको छ ।

केन्द्रीय बैंकले बुधवारदेखि लागू हुने गरी मोबाइल बैंकिङको कारोबार प्रतिदिन रू।२ लाखसम्म गर्न पाउने व्यवस्था गरेको छ । यसअघि यस्तो सीमा दैनिक रू। १ लाखसम्म मात्र गर्न पाइन्थ्यो ।

त्यस्तै अब अनुमतिप्राप्त धितोपत्र दलालहरूसँग धितोहरूको कारोबारबापत तोकिएको बैंक खातामा जति रकम पनि भुक्तानी गर्न सकिने भएको छ । यसअघि धितोपत्रको कारोबार गरेबापत प्रतिभुक्तानी कारोबार अधिकतम मोबाइल बैंकिङतर्फ रू १ लाख र इन्टरनेट बैंकिङतर्फ रू १० लाख थियो ।

धितोपत्र कारोबारमा भुक्तानीको सीमा आवश्यक नदेखिएको र कहिलेकाहीँ साबिक सीमाले नपुगेकाले सीमा हटाएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल बताउँछन् । दिनप्रतिदिन कारोबारको आकार बढ्दै गएकाले विद्युतीय सीमालाई बढाइएको उनको भनाइ छ ।

अब इन्टरनेट बैंकिङमार्फत मर्चेन्ट पेमेन्ट र खातामा ट्रान्सफर गर्ने सीमा पनि २० लाख रुपैयाँ पुर्‍याइइएको छ । यसअघि यसको सीमा दैनिक रू। १० लाखसम्म मात्र थियो । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानीसम्बन्धी एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै उक्त सीमा तोकेको हो ।

राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै नगद कारोबारभन्दा विद्युतीय कारोबारलाई बढाउन यस्तो सीमा बढाएको हो । चालू आवको अर्धवार्षिक मौद्रिक नीतिको समीक्षामा समेत विद्युतीय भुक्तानीको सीमा क्रमशः बढाउँदै जाने उल्लेख छ ।

‘क्यूआर कोडमा पनि बढी टर्नओभर भइरहेको बताइएको छ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्