सुनका गरगहनाको निर्यात हुन थाल्यो
काठमाडौं, फागुन २० । मूल्य वृद्धि र कोरोना विपद्का कारण स्वदेशी बजारमा सुनका गरगहनाको कारोबार घटेकोमा विदेशमा भने यसको निर्यात हुन थालेको छ । चालू आर्थिक वर्ष (आव) को शुरूदेखि नै विदेशी बजारमा यस्ता गरगहनाको निर्यात हुन थालेको भन्सार विभागको तथ्यांक छ ।
पछिल्लोपटक आव २०७२र७३ मा चीनमा ६१५ केजी बराबरको सुनका गरगहना निर्यात भएको थियो । त्यसपछि गत आवसम्म सुनका गरगहनाको निर्यात भएको भन्सार विभागको तथ्यांकमा देखिँदैन । यद्यपि, नगण्य मात्रामा सुनका गरगहनाको निर्यात भने भएको हुन सक्ने व्यवसायीहरू बताउँछन् । तर, चालू आवको शरूदेखि नै सुनका गरगहनाको निर्यात व्यापक मात्रामा हुन थालेको विभागको तथ्यांकले देखाएको छ ।
विभागको तथ्यांकअनुसार चालू आवको पहिलो ७ महीना अर्थात् माघसम्म रू १५ करोड ६७ लाख ६९ हजारको सुनका गरगहना निर्यात भएको छ । यस अवधिमा साढे १२ केजी बराबरको सुनका गरगहना निर्यात भएका छन् ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्ण बजगाईंले पछिल्लो समय नेपालबाट सुनका गरगहना निर्यात हुन थालेको बताए । ‘गत आवसम्म यस्ता गरगहनाको त्यति निर्यात भएको देखिँदैन । तर, यस वर्ष भने यसको निर्यात भएको छ,’ उनले भने ।
चालू आवको पहिलो महीनामा रू १ करोड ७३ लाख ७५ हजारको गरगहना निर्यात भएको थियो । त्यसपछि यस्ता गरगहनाको निर्यात बढ्दै गएको छ । विभागका अनुसार अस्ट्रेलिया, हङकङ र अमेरिकामा सुनका गरगहनाको निर्यात भएको हो ।
पछिल्लो समय ती मुुलुकमा नेपालीहरूको बसोवास बढ्दै गएको छ । उनीहरूबाट नै सुनका गरगहना माग हुने गरेको बताइएको छ।
यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।