मल आपूर्ति तथा वितरणमा साल्ट ट्रेडिङलाई थप जिम्मेवारी



काठमाडौं,फागुन १८ । फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई मल आपूर्ति तथा वितरणमा थप जिम्मेवारी दिने निर्णय गरेको छ ।

यसअघि साल्टले मल आपूर्ति तथा वितरणको जिम्मा पाएको भए पनि यसमा मुख्य भूमिका भने कृषि सामग्री कम्पनीको थियो । सरकारले किसानका लागि अनुदानमा खरीद तथा वितरण गर्ने मलको ७० प्रतिशत जिम्मेवारी कृषि सामग्री र बाँकी ३० प्रतिशतको मात्रै जिम्मा साल्टलाई दिएको थियो ।

तर, पछिल्लो समय कृषि सामग्रीले मल किन्न पाएका धेरैजसो ठेक्काहरू रद्द हुँदै गएको र जिम्मा पाएअनुसार मल आपूर्ति गर्न नसकेको भन्दै मन्त्रिपरिषद्ले साल्टको कोटासमेत बढाउने गरी जिम्मेवारी थप्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले जानकारी दिए ।

‘मन्त्रिपरिषद्को निर्णयसँगै ७०/३० को अनुपातमा हेरफेर हुन सक्ने भएको छ तर के कति थपघट गर्ने भन्नेबारे यकिन भएको छैन,’ उनले भने ।

त्यसैगरी, मन्त्रिपरिषद्ले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत नेपाल कृषि सेवा, एग.इको.एन्ड मार्केटिङ समूहका सहसचिव (प्राविधिक) डा श्रीराम घिमिरेलाई तोक्ने निर्णयसमेत गरेको छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्