सुदूरपश्चिम प्रदेशमा ११ हजार उद्योग दर्ता



कैलाली, फागुन १७ । सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लामा गरी करीब ११ हजार उद्योग दर्ता भएको पाइएको छ । प्रदेश सरकार गठनयता मात्र ९ हजार ८५४ नयाँ उद्यमी सृजना भएको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बताएको छ । प्रदेश सरकारले तीन वर्षमा ६९१ उद्यमीलाई विभिन्न प्रविधि हस्तान्तरण गरेको छ ।

प्रदेश सरकार गठनको ३ वर्ष अवधिमा प्रदेशमा २ हजार ३६३ लघु उद्योग, २०८ घरेलु उद्योग, ८ हजार ३५६ साना उद्योग र एउटा मझौला उद्योग गरी कुल १० हजार ९२८ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी भरतबहादुर श्रेष्ठले जानकारी दिए ।

उक्त अवधिमा ५ हजार ७१८ उद्योगको नवीकरण, ९ हजार ८५४ जना नयाँ उद्यमी सृजना, १ हजार ९०४ जना पुराना उद्यमीलाई पुनर्ताजगीकरण र ६९१ उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको छ । प्रदेशमा उच्च सम्भावना भएको जडीबुटीको उत्पादन, संकलन र प्रशोधन तथा विकासका लागि प्रदेश जडीबुटी उत्पादक तथा प्रशोधन कम्पनी स्थापनाका लागि यसअघि नै सम्झौता गरिसकिएको छ ।

वनमा आधारित उद्योगबाट २९ लाख ७७ हजार ८० क्युफिट काठ र ३ हजार ४४७ चट्टा दाउरा उत्पादन भएको छ । प्रदेश सरकार गठनको ३ वर्ष अवधिमा विभिन्न प्रजातिका जडीबुटी उत्पादनबाट २६ लाख २० हजार ५७६ किलो निकासी भएको मन्त्रालयले बताएको छ । त्यस्तै जडीबुटीका ९ लाख २६ हजार ५०० बिरुवा उत्पादन गरिएको मन्त्रालयको तथ्यांक छ ।

प्रदेश सरकारको ३ वर्षको अवधिमा विभिन्न प्रजातिका ४० लाख ३१ हजार ५५४ बिरुवा उत्पादन, १५ हजार ९३८ हेक्टर वन क्षेत्रमा १४४ ओटा सामुदायिक समूह गठन गरी वन हस्तान्तरण, ७५२ हेक्टर क्षेत्रफलमा वृक्षरोपण, २०२ हेक्टर अतिक्रमित वन क्षेत्रलाई खाली गराई वन क्षेत्र कायम, वन अपराध सम्बन्धी २७१ जनामाथि वन मुद्दा दायर र जिल्ला वन पैदावार समितिमार्फत ७९ हजार ७३७ क्युफिट काठ संकलन गरी १ हजार २८१ घरधुरीलाई घर निर्माण तथा मर्मतका लागि वितरण गरिएको छ । साथै वन पैदावार विक्रीबाट ३४ करोड १८ लाख राजस्व संकलन भएको छ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्