विभागले रोक्यो अत्यावश्यक बाहेकका लाइसेन्स छपाइ



काठमाडौं,फागुन १७ । खाली कार्ड अभाव भएपछि यातायात व्यवस्था विभागले अत्यावश्यक बाहेकका स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम रोकेको छ । विभागले मङ्सिरपछि आवेदन दिइएका कार्ड छपाइको काम रोकेको हो ।

मङ्सिरसम्मका कार्ड छपाएर यातायात कार्यालयमा पठाइसकेको विभागसँग अब ४० हजार थान मात्र खाली कार्ड बाँकी छन् । कार्ड सकिएपछि अत्यावश्यक बाहेकका कार्ड छपाइको काम रोकिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । ‘पुराना बाँकी रहेका, विदेश जाने लगायत अत्यावश्यक परेका व्यक्तिलाई वितरण गर्ने गरी बाँकी कार्ड छापिरहेका छौं,’ उनले भने ।

कार्ड अभाव भएपछि विभागले दुई साताअघि फ्रान्सेली कम्पनी स्मार्ट कार्ड एण्ड सोलुसनसँग नयाँ कार्ड खरीदका लागि सम्झौता गरिसकेको छ ।

विभागले १४ करोड (१२ लाख ४ हजार अमेरिकी डलर)मा उक्त कम्पनीलाई ठेक्का दिएको हो । गत भदौ दोस्रो साता स्मार्ट लाइसेन्स कार्डका लागि ठेक्का आह्वान गरिएकोमा मलेशियाको कम्पनी आइरिस बर्हाड कर्पोरेसन, फ्रान्सेली कम्पनी एसईएलपी र भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले आवेदन दिएका थिए ।

उक्त ठेक्कामा आधारित भएर मलेशियाको कम्पनी आइरिसले सबैभन्दा सस्तो ९ करोड ६१ लाख (८ लाख २६ हजार डलर) मूल्य प्रस्ताव गरेको थियो भने भारतीय कम्पनीले मद्रास सेक्युरिटीले १९ करोड २२ लाख मूल्य प्रस्ताव गरेको थियो, जसमा विभागले मलेसियन कम्पनीको कार्ड गुणस्तरीय नभएको भन्दै फ्रान्सको कम्पनीलाई ठेक्का दिएको थियो । ‘वित्तीय र प्राविधिक प्रस्ताव हेरेर राम्रो प्रविधि भएको कम्पनीलाई ठेक्का दिइएको हो,’ भुसालले भने, ‘मलेशियाको कम्पनीले गरेको प्रस्तावमा ६ ओटा प्राविधिक विचलन थिए ।’

विभागले २०७२ मङ्सिरदेखि कागजी लाइसेन्स वितरण रोकेर स्मार्ट लाइसेन्स वितरण गर्ने निर्णय गरेको थियो, जसअन्तर्गत हालसम्म विभागले २० लाख कार्ड छपाई गरी यातायात कार्यालयहरूमा पठाइसकेको जानकारी भुसालले दिए ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्