छहरे महोत्सव भव्य रुपमा उद्घाटन, नेकपा अनुपस्थित



प्याराग्लाइडिङ्बाट पुष्प वर्षा गर्दै

नुवाकोट,फागुन १४ । नुवाकोटको लिखु गाउँपालिकाद्वारा आयोजित ‘छहरे महोत्सव तथा व्यापार मेला’ भव्य रुपमा उद्घाटन गरिएको छ। शुक्रबार लिखु गाउँपालिका वडा नम्बर ६ को थान्सिङमा भएको एक समारोह बीच महोत्सवको उद्घाटन भएको हो।

समग्र नुवाकोटको पर्यटकीय विकास, आन्तरिक व्यापार, स्थानीय संस्कृति, लोककला, संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ छहरे बजार नजिकैको लिखु बगरमा आयोजित महोत्सवको उद्घाटन गर्दै पुर्वमन्त्रि तथा कांग्रेस सहमहामन्त्रि डाक्टर प्रकाशशरण महतले ग्रामीण भेगमा आयोजित महोत्सवले स्थानीयवासीको उत्पादन पहिचान तथा प्रवद्र्धन गर्न सहयोग पुगेको बताए ।

डा. महतले स्थानीयवासीले यस महोत्सववाट आफ्ना उत्पादनहरुको बजारीकरण गर्नुका साथै आफ्नो जीवनस्तर उकास्न सीप सिक्ने प्रेरणा मिल्ने समेत बताए । प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामाले महोत्सववाट स्थानीयवासीले बजार पहिचान तथा प्रवर्द्धनमा टेवा मिल्ने बताए । कार्यक्रममा काङ्ग्रेस नेता रामहरि खतिवडा,रमेशकुमार महत,लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ,दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योबिन्द्रसिंह तामाङ,शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा लगायतको उपस्थिति रहेको थियोे।

उद्घाटन समारोहमा उपस्थित अतिथि गण

महोत्सव उद्घाटन समारोहमा प्रभु हेलिकप्टर र सुइँरे चौर हुँदै कार्यक्रम स्थल पुगेका प्याराग्लाईडिङबाट पुष्प गुच्छा वर्षा गरिएको थियोे ।

कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरुले नृत्य तथा मार्चपास गरेका थिए। त्यस्तै लाइभ दोहोरीका गायिका प्रतिमा अर्यालको गीत प्रस्तुतिले दर्शक श्रोतालाई थप मनोरञ्जन दिलाएको थियोे।

नेकपाका कार्यकर्ता तथा जनप्रतिनिधि अनुपस्थित

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनप्रतिनिधिहरु अनुपस्थित रहे। कार्यक्रम उद्घोषिका शोभा त्रिपाठीले कार्यक्रममा स्थानीय नेकपाका जनप्रतिनिधिहरुको नाम पटकपटक बोलाइरहदा पनि कसैले उपस्थिति जनाएनन।

साझापथले यस विषय प्रश्न गर्दा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले उद्घाटन सत्रमा उपाध्यक्ष सीता पराजुलीलाई पठाइएको र अर्को दिन आफू उपस्थित हुने बताए।

लिखु गाउँपालिकाका उपाध्यक्ष रोजिना राईसंग महोत्सव मा उपस्थित हुनुभएन नि भन्ने प्रश्नमा गाउँपालिकामा भएको कार्यक्रम पालिकाका कुनै जनप्रतिनिधिसंगको छलफल विनानै कार्यक्रम आयोजना गरिएकाले असहमति रहेको बताइन्।उपाध्यक्ष राइले भनिन् – ‘म अहिले बाहिरी जिल्ला छु,नुवाकोट रहेको भएपनि म उपस्थित हुने थिइनँ ।’

नेकपा लिखुका विवेक ढकालले छहरे महोत्सवले लिखुको स्थानीय व्यापार व्यवसायको समेत प्रतिनिधित्व गर्न नसकेको बताए।

यता स्थानीय व्यापारी तथा व्यवसायीले छहरे महोत्सवले आफुहरुसंग कुनै समन्वय नगरेको बताए। छहरेका ब्यापारी श्याम डङोलले भने-‘लोकल व्यापारीलाई ब्यापार प्रवर्द्धनका लागि एक शब्द सोधिएन।’

महोत्सव स्थानमा प्याराग्लाईडिङ

प्रतिक्रिया दिनुहोस्