विराटनगर महानगरपालिकामा तीनओटा आकाशे पुल बन्दै



विराटनगर,फागुन १४ । विराटनगर महा–नगरपालिकामा पहिलोपटक आकाशे पुल बन्ने भएको छ । सवारी चाप र बढ्दो जनघनत्वका कारण महानगर पालिकाले नगर क्षेत्रभित्रका तीन स्थानमा आकाशे पुल बनाउन ठेक्का लगाएको छ ।

विराटनगर महानगरपालिका प्रमुख  भीम पराजुलीले जोगवनीदेखि धरानसम्मको पहिलो चरणको ६ लेन सडक निर्माण भएपछि यात्रुलाई बाटो काट्न कठिन भएकाले आकाशे पुल निर्माण गर्न लागिएको बताए । पहिलो चरणमा विराटनगरको कञ्चनवारी, बरगाछी चोक र घाँस चोकमा आकाशे पुल निर्माण हुनेछन् । आवश्यकता अनुसार पछि अन्य स्थानमा पनि आकाशे पुल थप गरिने जानकारी उनले दिए ।

महानगरले १ वर्षभित्र सम्पन्न गरिसक्ने गरी मूल्य अभिवृद्धि कर बाहेक कुल २ करोड ४७ लाख लागतमा पुल निर्माणको प्रारम्भिक प्रक्रिया अघि बढाएको छ । पुल निर्माणको ठेक्का कला बिल्डर्स र आरके बिल्डर्स एण्ड कन्स्ट्रक्सन कम्पनीले पाएको महानगरका इन्जिनीयर अर्जुन थापाले बताए ।

आकाशे पुलले विराटनगरको सौन्दर्यीकरण र विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । महानगरले गत वर्षदेखि नै पुल निर्माणको पहल थाले पनि सडक विभागको स्वीकृतिमा ढिलाइ र कानूनी बाधा अड्चनका कारण काम अघि बढ्न सकेको थिएन ।

सडक विभागको स्वीकृतिपछि महानगरले प्राविधिक तथा आर्थिक मूल्यांकनको आधारमा पुल निर्माण गर्नेछ । आकाशे पुल निर्माणका लागि प्रारम्भिक चरणको प्रक्रिया अन्तर्गत महानगरले टेण्डर प्राप्त गर्ने निर्माण कम्पनीहरूलाई सम्झौताका लागि पत्र काटिसकेको छ । अबको १ महीनाभित्रै निर्माण कम्पनीसँग सम्झौता भई काम अघि बढ्ने इन्जिनीयर थापाले जानकारी दिए । यसअघि प्रधानमन्त्री केपी ओलीको गृहनगर झापाको दमकमा फलामको आकाशे पुल निर्माण भइसकेको छ । त्यसपछि विराटनगर महानगर पालिकाले फलामकै आकाशे पुल निर्माण गर्न लागेको हो ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्