कृषि उद्यम व्यवसायमा युवाको आकर्षण बढ्यो



धनगढी,फागुन १० । पछिल्लो समय सुदूरपश्चिम प्रदेशका युवा कृषिका नयाँ नयाँ उद्यम व्यवसायमा आकर्षित भएका छन् । यसअघि प्रदेशमै पहिलो पटक व्यावसायिक कागतीखेती शुरू भएकोमा पछिल्लो समय युवाहरूले स्ट्रबेरी र ड्र्यागन फ्रुटको खेती समेत शुरू गरेका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मा फारवेष्ट हाइटेक एण्ड बायोटेक एग्रो फार्मले प्रदेशमै पहिलोपटक व्यावसायिक रूपमा स्ट्रबेरीखेती शुरू गरेको छ । प्लाष्टिक टनेलमा मल्चिङ प्रविधि प्रयोग गरी ५ लाख लगानीमा स्ट्रबेरीखेती गरिएको फार्म सञ्चालक नन्दलाल भट्टले बताए ।  

थोपा सिँचाइको माध्यमबाट खेती गरिएको स्ट्रबेरीले फल दिन शुरू गरेको छ । प्रतिकिलोग्राम ७०० का दरले स्ट्रबेरी स्थानीय बजारमा सहजै विक्री भएको उनको भनाइ छ ।

भट्टले काठमाडौंबाट स्ट्रबेरीका १ हजार ६०० बिरुवा ल्याई खेती शुरू गरेका हुन् । दुई कठ्ठा क्षेत्रफलमा लगाइएको स्ट्रबेरीको उत्पादन अपेक्षाकृत राम्रो देखिएकाले क्षेत्रफल विस्तार गरी उत्पादन बढाउने तयारी भइरहेको उनले बताए । स्ट्रबेरीका नयाँ बिरुवा उत्पादनका लागि नर्सरी तयार पारिएको छ ।

यसैगरी कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा प्रदेशमै पहिलोपटक ड्र्यागन फ्रुटको समेत खेती थालिएको छ । प्रदेश राजधानी घोषणा गरिएको स्थान नजिकै भीमदत्त नगरपालिका–१ महेन्द्रनगरका व्यवसायी गोकर्ण ओलीले ड्र्यागन फ्रुट लगाएका हुन् । प्रदेशको कृषि विकास निर्देशनालयको सहयोगमा उनले ३ हजार ५०० बोट ड्र्यागन फ्रुट रोपेका छन् । यसका लागि हालसम्म २८ लाखभन्दा बढी लगानी भइसकेको फार्म सञ्चालक ओलीले बताए ।

डेढ बिगाहा जमीन १० वर्षका लागि लिजमा लिएर गत साउनमा ड्र्यागन फ्रुट रोपिएको उनले बताए । ‘अहिले ५/६ फिट अग्लो बोट भइसकेको छ,’ उनले भने, ‘रोपेको १८ महीनादेखि २ वर्षमा फल लाग्छ ।’ एकपटक रोपेपछि २० वर्षसम्म उत्पादन लिन सकेको उनको भनाइ छ ।

ओलीले ड्र्यागन फ्रुटको बिरुवा रौतहट, सिन्धुली र दाङबाट ल्याएका हुन् । रातो जातको प्रतिबोट ३०० का दरले २ हजार ४०० र सेतो जातको प्रतिबोट २०० का दरले १ हजार १०० सय बोट ल्याएर लगाएको उनले बताए । कञ्चनपुरको झिलमिलामा पनि युवाको समूहले १७ हजार बोट ड्र्यागन फ्रुट रोप्ने तयारी गरेको उनले सुनाए ।

प्रदेशमा यसअघि नै व्यावसायिक कागतीखेती पनि हुँदै आएको छ । गोदावरी नगरपालिका–४ खैराना अत्तरिया कैलालीका दुई युवाले सामूहिक रूपमा व्यावसायिक कागती खेती गरेका हुन् । स्थानीय पुष्कर पन्त र खेमराज भट्टराईले भूमिराज एग्रो सर्भिस नामक कम्पनी स्थापना गरेर ८ बिघा क्षेत्रफलमा १ करोड ३२ लाख लगानी गरेर ‘थाई लेमन’ प्रजातिको कागतीखेती गरेका छन् ।

सरस्वती आधारभूत प्राविको ९ बिघा जमीन १५ वर्षका लागि लिजमा लिएर ८ बिघामा कागती र एक बिघामा तरकारी खेती लगाइएको छ । स्थानीय बजारमा कागतीको माग निकै बढी भएको र कागतीका लागि पनि भारतकै भर पर्नुपर्ने अवस्था देखेर शुरूमा गुजरातबाट बिरुवा ल्याएर कागती लगाइएको थियो । अहिले आफैले बेर्ना उत्पादन गर्दै आएको सञ्चालक पन्तले बताए ।

सुदूरपश्चिममा खपत हुने ७० प्रतिशतभन्दा बढी कागती भारतका विभिन्न शहरबाट आयात हुने गरेको भन्दै सञ्चालक पन्तले कागती बजारको राम्रो सम्भावना देखेर यसको व्यावसायिक खेती शुरू गरिएको बताए । ‘अहिले हामीले ७ हजार कागतीका बिरुवा रोपेका छौं,’ उनले भने, ‘हामीले लगाएको कागती ठूलो आकारको भएकाले शुरूमा बजार लिन समस्या देखिए पनि अहिले यहाँका होटेलको रोजाइमा पर्न थालेको छ ।’ आफ्नो फार्मको उत्पादनले बुटवलसम्म बजार लिएको सञ्चालक पन्तले बताए । यो वर्ष मात्र डेढ सय टन कागती विक्री गरिएको उनको भनाइ छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्