प्रधानमन्त्रीले उदघाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड



दाङ,फागुन ९ । नेपालकै दोस्रो लामो भनिएको दाङको सिसहनिया-महादेवा जोड्ने पुलको शिलालेख तोडफोड भएको छ ।

सो पुल प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १२ गते बिधिवत उद्घाटन गरेका थिए । पुलको सम्पूर्ण भाग गढवा गाउँपालिका-२ महदेवाको मौजामा पर्छ । तर शिलालेखमा सिसहनिया लेखेर प्रधानमन्त्रीले उद्घाटन गरेका हुन । सिसहनिया राप्ती गाउँपालिका अन्तरगत पर्छ । यसरी आफ्नै मौजामा पर्ने ठाउँकै नाम छुटाएपछि स्थानिय रुष्ट बनेका थिए । उनिहरुले शिलालेखको नाम सच्याउन स्थानीय जनप्रतिनिधि मार्फत् दबाव दिँदै आएका थिए ।

गढवा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भक्तु चौधरीले नाम सच्याउन निर्माण कम्पनीलाई बारम्बार आग्रह गरेको बताउँछन् । तर यत्तिका दिन बितिसक्दापनि नाम सच्याउनमा ढिलाई भएपछि शिलालेख तोडिएको हुनसक्ने चौधरीले अनुमान गरे ।यता पुल निर्माण कम्पनिका सुपरभाईजर लक्ष्मण ढकालले उद्घघाटन र शिलालेखमा आफुहरुको कुनै भुमिका नरहने बताउँछन्। उद्घाटन र शिलालेख सरकारको काम हो, यसमा हाम्रो भुमिका हुँदैन सुपरभाईजर ढकालले भने-हाम्रो काम भनेको निर्माण गर्ने हो, निर्माण र उद्घाटन फरक कुरा हुन।

उता इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले कसले तोडेको भन्ने बारेमा अनुसन्धान भईरहेको बताए । शिलालेखमा नाम फरक पारेका कारण तोडिएको हुनसक्ने हल्ला सुनेपनि एक्किन बताउन नसक्ने अबस्था रहेको उनको भनाई छ ।

उद्घघाटन कार्यक्रममा सुरक्षाको कारण देखाउँदै स्थानीयलाई प्रबेश निषेध गरिएको थियो । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने सो पुल ८ सय ६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्