काठमाडौंमा मेलम्चीको पानी : भोलिदेखि सुरुङ परीक्षण, सफल भए वैशाखदेखि धारामा पानी



काठमाडौ,फागुन ९ । काठमाडौंमा मेलम्चीको पानी ल्याउने गरी तयारी अघि बढाइएको छ । सोमबारदेखि पानी बग्ने सुरुङको परीक्षण सुरु गरिँदै छ । मेलम्ची खानेपानी वितरण विकास बोर्डका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तका अनुसार योजना मुताविक नै परीक्षण सफल भए आगामी वैशाखदेखि नै उपभोक्ताको धारामा मेलम्चीको पानी झर्छ ।

सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि साढे २६ किलोमिटरको सुरुङ छिचोलेर काठमाडौंमा पानी ल्याउनेगरी बोर्डले परीक्षण सुरु गर्दैछ । मेलम्चीमा करिब एक करोड लिटर क्षमताको पानी भण्डारणको क्षमता निर्माण गरिएको छ । त्यहींबाट सुरुङमा पानी खसालेर परीक्षण गर्न लागिएको हो ।

आयोजनाका अनुसार सुरुङमा पानी भरेर परीक्षण गरिन्छ । सुरुङमा पानी भरिनै १५ दिन लाग्ने बोर्डका सूचना अधिकारी पन्त बताउँछन् । ‘सुरुङमा विस्तारै पानी पठाएर होल्ड गर्दै, कहींकतै लिकेज भए/नभएको लगायतका प्राविधिक समस्या केलाउँदै परीक्षण गर्नुपर्छ,’ उनी भन्छन्, ‘यही विधिबाट एकचोटी पानी भरेर, त्यसलाई रित्याएर फेरि भरेर परीक्षण गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्