भारतबाट पुनः १० लाख डोज कोरोना खोप नेपाल ल्याइयो
काठमाडौ,फागुन ९ । सरकारले भारतसंग किनेको कोरोनाविरुद्धको खोप काठमाडौ ल्याएको छ । खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप मध्ये १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् आइतबार दिउँसो काठमाडौ ल्याएको हो ।
दिउँसो २ बजे एयर इन्डियाको जहाजमार्फत खोप ल्याइएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । उक्त कोरोना विरुद्धको खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्डरुपमा भण्डार गरी यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने छ ।
यसअघि भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको थियो । सो खोपबाटै गत माघ १४ गतेदेखि नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको थियो । हाल भारतबाट किनेको २० लाख डोज खोपमध्ये बाँकी १० लाख डोज पनि छिट्टै ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।