सुर्खेतमा पनि देखियो बर्डफ्लु



सुर्खेत, फागुन ९ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१२ मा पनि बर्डफ्लु देखिएको छ। यहाँ कृषकले पालेको स्थानीय कुखुरामा बर्ड फ्लु रोग देखिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका महानिर्देशक डा दमयन्ती श्रेष्ठका अनुसार कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षणका क्रममा बर्ड फ्लु पुष्टि भएको हो । संक्रमण पुष्टिसंगै २७९ कुखुरा, १०२ परेवा, २२ अण्डा, ३१ केजी दाना नष्ट गरिएको छ। यसअघि काठमाडौँको तारकेश्वर नगरपालिकामा पालिएका पन्छीमा बर्डफ्लु देखिएको थियो।

विभागले बर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन सङ्घ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको जनाएको छ। रोग नियन्त्रणका लागि सहजीकरण गर्न केन्द्रीयस्तरसमेतबाट पशु चिकित्सकको विज्ञ टोली खटाइएको उनले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्