नेपाल इन्स्टिच्युट अफ कम्पनी सेक्रेटरिजको नयाँ सञ्चालक समिति चयन



काठमाडौं,फागुन ९ । कम्पनी सचिवहरूको संस्था नेपाल इन्स्टिच्युट अफ कम्पनी सेक्रेटरिज (एनआईसीएस)को शनिवार सम्पन्न १५औं बार्षिक साधारणसभाले सातसदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । सभाबाट रमेश घिमिरे, माधव रेग्मी, टीका भट्टराई, रामचन्द्र खनाल, गुरुप्रसाद अधिकारी, चूडामणि पराजुली, भीष्म न्यौपाने निर्विरोध चयन भएका हुन् । घिमिरे, रेग्मी, भट्टराई र खनाल यसअघि पनि सञ्चालक थिए । नयाँ सञ्चालक समितिले अध्यक्ष, उपाध्यक्ष र प्रबन्ध सञ्चालक छान्नेछ ।

नयाँ सञ्चालक समिति चयन गर्न गर्न अधिवक्ता मुकुन्द्र पौडेललाई निर्वाचित अधिकृत नियुक्त गरिएको थियो । निर्वाचन समितिले फागुन १ गते निर्वाचन कार्यक्रम प्रकाशन गरेकोमा सञ्चालक हुन सात जनाको मात्रै मनोनयन परेको थियो ।

संस्थामा साधारण सदस्य ६५, आजीवन संस्थागत सदस्य ९ र आजीवन व्यक्तिगत सदस्य १३ जना छन् । सबैलाई मतदानको अधिकार छ । चार्टर्ड एकाउन्टेन्टहरूको जस्तै कम्पनी सचिवहरूको पेशालाई व्यवस्थित र नियमित गर्न लागिपरेको यस इन्ष्टिच्युटले सो सम्बन्धी विधेयकको मस्यौदा तयार पार्न सरकारलाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।

नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरिजले भारतको इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरिज (आईएसआई)सँग सहकार्य गरी प्राविधिक सहयोग आदानप्रदान गर्दै आएको छ । एशियाका धेरै मुलुकमा कम्पनी सचिवहरूको नियमन गर्न छुट्टै निकाय गठन भइसके पनि नेपालमा भने हुन सकेको छैन ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्