सकियो प्रतिनिधिसभा विघटन मुद्दाको बहस
काठमाडौँ,फागुन ७ । प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा चलिरहेको बहस सकिएको छ । शुक्रबार विज्ञ समूह (एमिकस क्युरी) का तर्फबाट अधिवक्ता गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो ।
अधिवक्ता पाठकले राय दिएसँगै सकिएको बहसको नोट फागुन १० गतेभित्र उपलब्ध गराउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन् ।
फैसलाबारेमा प्रधानन्यायाधीश जबराले बहसको नोट पाए पछि हेर्दाहेर्दैमा जान सकिने बताएका छन् । उनका अनुसार हेर्दादेहर्दैमा फागुन ११ गते वा १२ गते पनि हुन सक्ने छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा पहिले रिट निवेदकका तर्फका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि प्रधानमन्त्रीका वकिल र सभामुखका कानुन व्यवसायीले बहस गरेका थिए । त्यस्तै रिट निवेदकका कानुन व्यवसायीहरूले सोमबार जवाफी बहस पनि टुंग्याएपछि मंगलबारदेखि एमिकस क्युरीको पालो आएको थियो ।
पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन सिफारिस गरेको थियो भने सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन घोषणा गरेकी थिइन् । प्रतिनिधिसभा विघटनविरुद्ध १३ मुद्दा सर्वोच्चमा परेका थिए । ती मुद्दामा संवैधानिक इजलासमा माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भएको थियो ।