वागमती प्रदेशसभा स्थगितले प्रदेश संरचनाप्रति नै वितृष्णा : विवेकशील साझा



काठमाडौ,फागुन ६ । विवेकशील साझा वागमती प्रदेश संसदीय दलका नेताले हठात प्रदेशसभा बैठक स्थगित गरिएकोप्रति आपत्ति जनाएका छन् ।

माघ ७ गते वागमती प्रदेश सभाको सातौँ अधिवेशन सुरु भए यताको करिब एक महिनामा जम्मा दुइवटा मात्र बैठक बसेको भन्दै प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले आपत्ति जनाएका हुन् ।

‘माघ ७ गतेको पहिलो बैठक औपचारिक शुभकामना आदानप्रदानमा सीमित रह्यो भने माघ ९ गते सत्ताधारी दल, नेकपाकै ४५ जना सदस्यहरूद्वारा मुख्यमन्त्री विरुद्ध दर्ता अविश्वासको प्रस्ताव टेबुल गरिएको थियो । त्यसयता सभाका बैठकहरू सञ्चालन हुन सकेका छैनन् । फलस्वरूप, प्रदेश सभामार्फत नागरिकका आवाज मुखरित गर्ने अवसर प्रदेश सभा सदस्यहरूले पाएका छैनन्’ पौड्यालद्वारा विज्ञप्तिमा उल्लेख छ, ‘सत्ताधारी नेकपा भित्र देखिएको विवादको चपेटामा परेर प्रदेश सभाले आफ्नो बैठकसमेत सञ्चालन गर्न नसक्ने स्थिति उत्पन्न हुनुले आम जनमानसमा प्रदेश संरचनाप्रति नै वितृष्णा पैदा गराएको स्थिति छ ।’

प्रतिक्रिया दिनुहोस्