आव २०७८/७९ को बजेट तयारी सम्बन्धी गृहकार्य शुरू



काठमाडौं ,फागुन ६ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका लागि गृहकार्य शुरू गरेको छ । यसै क्रममा अर्थ मन्त्रालयले बुधवार पूर्व अर्थसचिवहरूसँग छलफल कार्यक्रम आयोजना गरेको छ ।

पूर्व अर्थसचिवहरूले कोभिड–१९ महामारीको कारणबाट अप्ठ्यारो स्थितिमा पुगेको अर्थतन्त्र पुनरुत्थान गर्नेगरी आगामी आर्थिक वर्षको बजेटलाई केन्द्रित गर्न सुझाएका छन् । उनीहरूले स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार एवं क्षमता विकासलाई पनि विशेष जोड दिन आग्रह गरेका छन् ।

पूर्व मुख्यसचिव तथा अर्थसचिव डा. विमल कोइरालाले कोभिड–१९ र निर्वाचनको घोषणाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा नयाँ चुनौती थप गरेको उल्लेख गरे । छलफलका क्रममा उनले बजेट निर्माण गर्दा आर्थिक परिसूचक र विभिन्न प्राविधिक विषयको अतिरिक्त अर्थराजनीतिलाई समेत ध्यान दिनु उपयुक्त हुने सुझाए ।

त्यसैगरी पूर्वमन्त्री एवं अर्थसचिव विद्याधर मल्लिकले विकासलाई केही आर्थिक परिसूचकमा सीमित राख्नुभन्दा समग्रतामा हेर्नुपर्ने आवश्यकता औंल्याए । निजी लगानी विस्तारका आवश्यक वातावरण सृजना गर्ने तथा अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्नुपर्ने उनले बताए ।

अर्का पूर्व अर्थसचिव रामेश्वर खनालले व्यावसायिक वातावरण निर्माण र नीतिगत एवं कानूनी सुधारतर्फ जोड दिए । प्रारम्भमा विभिन्न आर्थिक परिदृश्य निर्माण गरेर नीति तथा कार्यक्रमको मस्यौदा निर्माण गरी बजेट तर्जुमाको समयको स्थिति मूल्यांकन गरेर मात्र बजेट तर्जुमा गर्न उपयुक्त हुने धारणा उनले राखे । यस्तै पूर्व अर्थसचिव डा. शान्तराज सुवेदीले कोभिड–१९ लाई अवसरका रूपमा लिएर कोभिड–१९ जे जुन जुन क्षेत्रमा असर गरेको छ, सोही क्षेत्रलाई सम्बोधन गर्नेगरी बजेट ल्याउन जरुरी रहेको औंल्याए । अर्का पूर्व  अर्थसचिव सुमनप्रसाद शर्माले आगामी आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रमा खर्च बढाउन सुझाव दिए । पूर्व अर्थसचिव युवराज भुसालले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर अनावश्यक पूर्वधार निर्माणलाई कटौती गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा पूर्व अर्थसचिव शंकरराज अधिकारीले आर्थिक वृद्धि र त्यसका लागि निजी एवं निजी–सरकारी साझेदारीमा विशेष जोड दिए । यस्तै पूर्व अर्थसचिव डा. राजन खनालले समयमै सुधार गर्न सकिएन भने सार्वजनिक संस्थान मुलुकका लागि निकै ठूलो बोझ बन्ने अवस्थातर्फ अर्थ मन्त्रालयको ध्यानाकर्षण गरे । साथै अर्का पूर्व अर्थसचिव तथा प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार लालशंकर घिमिरेले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा अर्थसचिव शिशिरकुमार ढुंगानाले छलफल कार्यक्रमको उद्देश्य, आवश्यकता र औचित्यबारे बताउँदै आगामी दिनमा पनि खासगरी नीतिगत, कार्यक्रमिक एवं व्यवस्थापकीय सुधारका सम्बन्धमा यसप्रकारका कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्