ताजा जनादेश लिने कदम नै अग्रगमन : मन्त्री ढकाल



झापा,फागुन ६ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्यडनमन्त्री भानुभक्त ढकालले मिति तोकेर ताजा जनादेश लिन आम निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अग्रगमन भएको बताएका छन् ।

मेचीनगरमा बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को क्षेत्रीय भेलामा उहाँले चुनावको विरोध गर्ने र विघटित प्रतिनिधिसभाको पुनःस्थापनको माग गर्ने प्रतिगमनकारी भएको आरोप लगाए । “नेपाली भाषामा अग्रगमन भनेको अगाडि बढ्ने कुरा हो”, मन्त्री ढकालले भने, “जो निर्वाचन नगर भन्दै निर्वाचन आयोगमा गएका छन् , उनीहरु नै प्रतिगमनकारी हो ।”

विघटन नभएका अवस्थामा मात्र संसद्को अवधि पाँच वर्ष हुने भनेर संविधानमा लेखिएको उनले जिकिर गरे । सधैँका लागि प्रधानमन्त्रीले संसद् विघटन गरे भनेर केहीले गलत अर्थ लगाइरहेको उनको तर्क थियो । कार्यक्रमका अर्का वक्ता तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सर्वोच्च अदालतले शुरुमै स्थगन आदेश नदिएको हुँदा आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने बताए ।

नेकपा स्थायी समितिका सदस्य नेम्वाङले जनतामा जाने प्रधानमन्त्रीको घोषणालाई तानाशाही कदम भनेर भ्रम छर्न खोजिएको उल्लेख गरे । उनले प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा नै आधिकारिक पार्टी भएकाले सोही पार्टीले सूर्य चिह्न पाउने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्