व्यापारीलाई गर्मी मौसमका कपडा आयातमा सकस



काठमाडौं,फागुन ५ । लत्ताकपडा तथा तयारी पोशाक व्यापारीहरूलाई गर्मी मौसमका लागि आवश्यक पर्ने कपडा आयातमा समस्या भएको छ । करीब वर्ष दिनभन्दा बढी समयदेखि नेपाल चीन नाका अवरुद्ध हुँदा व्यापारीहरूलाई सामान आयातमा समस्या हुँदै गएको छ ।

नाका अवरुद्ध भएपछि आयातकर्ता व्यापारीहरूले यति बेला चीनबाट आयात हुने सामानसमेत भारतको बाटो हुँदै आयात गर्नु परिरहेको छ । यसले गर्दा व्यापारीहरूलाई भाडादर महँगो पर्न जानुका साथै सामान आयातमा समेत लामो समय खर्चनु पर्दा कठिनाइ भोग्नु व्यापारीहरूले बताएका छन् ।

सामान्य अवस्थामा व्यापारीले चीनबाट सामान आयात गर्दा उत्तरी नाका रसुवागढी र तातोपानी हुँदै आयात गर्ने गर्दथे । तर, हाल समुद्री मार्गमार्फत भारतको बाटोबाट सामान आयात गर्नुपर्दा सामान्य अवस्थाको भन्दा करीब तीन गुणासम्म बढी ढुवानी भाडा तिर्नु परेको छ । यसले गर्दा सामानको मूल्यसमेत महँगिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका मेला समिति सभापति दिलसुन्दर श्रेष्ठका अनुसार सामान्य अवस्थामा समुद्री मार्गमार्फत नै सामान आयात गर्दा पनि प्रतिकन्टेनर सामानको भाडादर १८ सय डलर थियो । तर, अहिले प्रतिकन्टेनर सामानको भाडादर ५ हजार डलरभन्दा पनि धेरै तिर्नु परेको अवस्था छ । भाडादर वृद्धिको असर सोझै सामानको मूल्यमा पर्न गएकाले सर्वसाधारण उपभोक्ता मर्कामा परिरहेको उनले बताए ।

अहिले आयातकर्ता व्यापारीहरू सामान छनोट गर्न र आयातका लागि चीन जान पाएका छैनन् । त्यसैले अनलाइनबाट नै सामानको अर्डर भइरहेको छ । नेपालमा तयारी पोशाक आयात हुने देशहरूमा चीन नै प्रमुख देश हो । नेपालमा आयात हुने तयारी कपडामध्ये चीनबाट ६० प्रतिशत, भारतबाट ३० प्रतिशत आयात हुन्छ भने बंगलादेश र थाइल्यान्डबाट १० प्रतिशत आयात हुने व्यापारीहरू बताउँछन् । यसरी आयात हुने तयारी कपडामध्ये जाडो र गर्मी दुवै मौसममा वार्षिक करीब ८० अर्ब मूल्य बरावरको कपडा आयात हुने गर्छ ।

सामान्य अवस्थामा समुद्री मार्गबाट सामान ल्याउँदा १५ दिन लाग्थ्यो । तर, अहिले २ महीनासम्म पनि लाग्ने गरेको दुखेसो व्यवसायीहरू पोख्छन् । भनेको समयमा सामान आयात गर्न नसक्दा त्यसको प्रभाव व्यापारमा समेत पर्न गई खुद्रा व्यापारीहरूलाई समयमै सामान उपलब्ध गराउन समस्या हुने गरेको न्यूरोडका व्यापारी राजेन्द्र लामाले बताए ।

यति बेला चिनियाँ नयाँ वर्ष मनाउन त्यहाँको भन्सारलगायत कार्यालय बन्द हुँदा सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवागढीस्थित रसुवागढी भन्सारमार्फत हुँदै आएको आयातसमेत रोकिएको छ ।

यसअघि रसुवागढी नाकाबाट दैनिक ५ गाडी सामान आयात हुँदै आएको थियो ।

पटकपटक बन्द हुँदै खुल्दै आएको तातोपानी नाकाबाट समेत न्यून मात्रामा मात्रै सामान आयात हुने समस्याले गर्दा व्यापारीहरूले विकल्पको रूपमा भारतीय बाटो प्रयोग गर्नु परेको हो । तर, त्यसले व्यापारीहरूलाई निकै सकस पारिरहेको बताइएको छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्