काठमाडौं–तराई द्रुतमार्ग : प्रिक्वालिफिकेशनमा ३ चिनियाँ कम्पनी मात्रै छनोट



काठमाडौं,फागुन ५ । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनामा पर्ने सुरूङमार्ग र केही पुलका साथै पहुँचमार्ग बनाउन आह्वान गरिएको पूर्वयोग्यता (प्रिक्वालिफिकेशन–पीक्यू) प्रस्तावमा आवेदन दिएकामध्ये जम्मा तीनओटा कम्पनी छनोटमा परेका छन् ।

सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गको सुरूङमार्गसँग जोडिएका केही पुल र सडक बनाउन आह्वान गरिएको पीक्यूमा ४३ कम्पनीले आवेदन दिएका थिए । त्यसमध्ये सुरूङमार्गसहितका ती संरचना बनाउन माग गरिएका प्रावधानहरूलाई पूरा गर्ने तीनओटा कम्पनी मात्रै छनोट भएका हुन् ।

कुल ४३ मध्ये तीनओटा कम्पनीलाई छनोट सूचीमा राख्दै नेपाल सेनाले मंगलवार पुनः ती कम्पनीलाई आर्थिक र प्राविधिक प्रस्ताव पेश गर्न सूचना जारी गरेको छ । निर्माणाधीन द्रुतमार्गका ११ क्लस्टरमध्ये टनेल प्याकेज १ र २ का लागि आह्वान गरेको पीक्यू प्रस्ताव सेनाले असोजमा खोलेको थियो । यसको मूल्यांकनमै झन्डै ५ महीनापछि ती कम्पनी सर्टलिस्टमा राख्दै आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरिएको हो । त्यसमध्ये पीक्यूमा ३ कम्पनी छनोट भए पनि २ ओटै प्याकेजमा एउटै कम्पनी पोली च्याङ्दा इन्जिनीयरिङ कर्पोरेशन लिमिटेड छनोट भएको छ भने पहिलो प्याकेजमा चाइना इन्जिनीयरिङ कर्पोरेशन लिमिटेड छनोट भएको छ ।

सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले पीक्यू प्रस्तावमा माग गरिएका प्रावधानहरू पूरा गरेका कम्पनी मात्रै छनोट गर्दा धेरै कम्पनी असफल भएको बताए । उनले प्रस्ताव गर्ने ४३ कम्पनीकै वार्षिक टर्नओभर, प्रस्तावित हरेक कम्पनीसँग १६ जना उच्च प्राविधिक तथा टनेल, ट्राफिक इन्जिनीयरहरू भए नभएको, सुरुङमार्ग तथा अन्य संरचना बनाउने २१ किसिमका इक्वीप्मेन्टहरू, जेभी पार्टन (ज्वाइन्ट भेञ्चर)लगायत क्राइटेरियाहरू नै पूरा गर्न नसकेकाले सर्टलिस्टेड कम्पनीको संख्या कमी भएको दाबी गरे ।

सार्वजनिक खरीद ऐन तथा नियमावलीको दायरामा नै रहेर कम्पनी सर्टलिस्ट गरिएको र त्यसअनुसार नै मंगलवार सूचना जारी गरी ३ कम्पनीसँग आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरिएको उनको भनाइ छ । ती कम्पनीले ४५ दिनभित्र अर्थात् चैत २२ गतेसम्ममा आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गर्नुपर्छ ।

यी प्रस्तावहरू छनोट भएमा आगामी जेठ पहिलो हप्तासम्म मूल्यांकनको कार्य सकेर जेठ अन्तिमसम्ममा निर्माणका लागि ठेक्का दिइने पौडेलले बताए ।

आयोजनाको मुख्य कार्यको रूपमा सुरुङमार्ग र जटिल खाले पुल रहेका छन् । यी संरचना निर्माण नै शुरू नहुँदा अहिले समग्र आयोजनाको भौतिक तथा वित्तीय खर्च नै न्यून देखिँदै आएको छ । कम्पनीहरू छनोट भएपछि आयोजनाको मुख्य र जटिल मानिएका संरचना निर्माण पनि छिटै हुने अपेक्षा सेनाको छ । पौडेलका अनुसार अहिले पीक्यूमा छनोट भएका कम्पनी आर्थिक तथा प्राविधिक प्रस्तावमा पनि सफल भएमा ती कम्पनीले नै सुरुङमार्गका प्याकेज १ मा २/२ ओटा मुख्य पुल र विशेष पुल र प्याकेज २ मा एउटा मुख्य पुल र ४ ओटा विशेषखाले पुल निर्माण गर्नेछन् । यसका साथै सुरुङमार्गसँगै जोडिएको सडक पनि सँगसँगै निर्माण हुने उनको भनाइ छ । ७२ दशमलव ५ किलोमीटर (किमी) लामो उक्त द्रुतमार्गमा ३ स्थानमा सुरुङमार्ग बन्नेछन् भने १६ ओटा जटिलखाले पुलहरू पनि बन्नेछन् । द्रुतमार्गमा सुरुङमार्गको दूरी ६ दशमलव ४१ किमी रहेको छ भने जटिल खाले पुलको लम्बाइ १० दशमलव ५९ किमी रहेको छ । यसैगरी टनेल प्याकेज १ मा छोक्रेडाँडाँदेखि धोद्रेखोलासम्मका लागि २१ ओटा र प्याकेज २ को धोदे्रखोलादेखि लेनडाँडाँसम्मका लागि २२ ओटा कम्पनी पीक्यूमा सहभागी भएका थिए ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्