फेरि बढ्यो तेलको मूल्य
काठमाडौं, फागुन ४ । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजे देखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रति लिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आन्तरिक हवाई इन्धनको मूल्य ६७ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य ह्वात्तै बढेपछि इन्डियन आयल निगमले नयाँ मूल्य सूची पठाएपछि निगमले मूल्य वृद्धि गरेको हो । मूल्य वृद्धिका बाबजुद निगमलाई पेट्रोलमा प्रति लिटर पाँच रुपैयाँ ८२ पैसा, डिजेलमा चार रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिन्डर २९५ रुपैयाँ ८३ पैसा घाटा रहेको छ ।
अब निगमलाई प्रत्येक १५ दिनमा ८६ करोड ७८ लाख घाटा रहनेछ । हालको मूल्य अनुसार निगमलाई मासिक पौने दुई अर्ब घाटा हुन थालेको छ ।
विश्व बजारमा तेलको भाउले किर्तिमान कायम गर्न सक्ने प्रक्षेपण गरिएको छ । यसले नेपालमा अझै पेट्रोलियम पद्धार्थको मूल्य अझै वृद्धि हुने देखिएको छ ।