आज फेब्रुअरी १४ ‘भ्यालेन्टाइन डे’



काठमाडौ,फागुन २ । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे संसारभर मनाइँदैछ । मुलतः युवा जमातले आजको दिनलाई विशेष उत्सवका रुपमा मनाउने गरेका छन् ।

नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउने गरेका छन् । आजको दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् ।

‘भ्यालेन्टाइन डे’ को औपचारिक शुरुवात सन् २६९ बाट रोमनबाट भएको मानिन्छ । यो दिवससँग एउटा दुःखान्त प्रेम कथा जोडिएको छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए ।

प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए । तर सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए ।

उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।

उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा ‘भ्यालेन्टाइन डे’ मनाउने गरिएको हो ।

प्रेम दिवसले सहरी समाजमा नयाँ संस्कृतिकै रूप लिइसेको छ । तर यसवर्ष कोरोना महामारीका कारण विश्वमा भ्यालेन्टाइन डेको पछिल्ला वर्षहरुमा जस्तो उत्साह भने देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्