रसुवामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु



नुवाकोट,फागुन २ । रसुवामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ। शुक्रबार बेलुका रसुवामा मोटरसाइकल दुर्घटनामा परेका प्रहरी जवानको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते प्रहरी जवानको नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा अस्थायी प्रहरी पोष्ट ग्राङ रसुवाका प्रहरी जवान इन्द्र प्रसाद अर्याल भएको जिल्ला प्रहरी कार्यालय रसुवाले बताएको छ।

मोटरसाइकलमा सँगै सवार रहेका प्रहरी हवल्दार नुवाकोटका राजेन्द्र लामाको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।

मृतक प्रहरी जवान इन्द्र प्रसाद अर्यालको घर चितवन भएको र उनको ९ बर्षको बालक छोरा भएको जानकारी आएको छ ।

शुक्रबार ग्रस्ती गरेर ग्राङ फर्किँदै गर्दा कालिका गाउँपालिका वडा नं १ को सेति भूमे माध्यमिक विद्यालय नजिकै रहेको खोलामा प्रहरी जवान इन्द्र प्रसाद अर्याल र हवल्दार लामा चडेको प्र १ ००३ प ३३७५ नम्बरको मोटरसाइकल सडकबाट करिब ६ मिटर तल खसेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्