लुम्बिनी केबलकारको शिलान्यास



प्रधानमन्त्री ओली शिलान्यास सन्दर्भमा

बुटवल,फागुन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबल उपमहानगरपालिका, ३ गोलपार्क, बमघाटमा लुम्बिनी केवलकारको शिलान्याश गरेका छन्। लुम्बिनी केबलकार प्रालिद्वारा निर्माण हुने यस केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडासम्म पुग्नेछ ।तीन किलोमीटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् ।

प्रधानमन्त्री ओलीले सरकारले विकासका कामलाई द्रुतरुपमा अगाडि बढाउँछ भन्दै आयोजना अगाडि बढाउन सरकारको तर्फबाट पूर्ण सहयोग पुग्ने बताए।कोभिडले देशको पर्यटन क्षेत्रलाई पुगेको धक्कालाई समेत यस परियोजनाले सहयोग पुर्याओस भन्ने आफ्नो शुभकामना रहेको उनले बताए ।

उनले बुटवलको जनसंख्या, भारतको उत्तरप्रदेश एवम् लुम्बिनी आउने विदेशी पर्यटकका माझ यो केबलकार लोकप्रिय बन्ने बताए । आयोजनाका निर्माणकर्ताहरुले आयोजना एकवर्ष भित्र सक्ने प्रतिवद्धता जनाएकोमा प्रसंशा गर्दै यसका लागि जेजस्तो सहयोग चाहिन्छ सरकारले पुरा गर्ने बताए । उनले बुटवल ज्ञानमूभि, ध्यान भूमि र तपोभूमि रहेको भन्दै यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई पनि सघाउ पुर्याउने अपेक्षा व्यक्त गरे ।

अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा विकास निर्माणका कामले गति लिएका  र यसबिचमा लुम्बिनी केबलकार रोलमोडल बन्ने बताए । मुख्यमन्त्री शंकर पोखरेलले विकास सबैका लागि हो, यो आयोजनाबाट लुम्बिनी प्रदेशका हामी सबै खुशी रहेको बताए ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगमस्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न स्वरुप यो आयोजना सुरु गरेको बताए ।

उनले प्राकृतिक सौन्दर्यले समेत सुशोभित यस सुन्दर पुण्यभूमिको पर्यावरणीय संवेदनशिलतालाई कायमै राखी स्थानीय साझेदारीको माध्यमबाट यहाँका नागरिकको जीवनस्तर उकास्ने र पर्यटनको विकासमार्फत् देशको समृद्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राज्य निजी क्षेत्र साझेदारीको उत्कृष्ट नमूना हामीले मलेसियालाई लिन सक्छौं भन्दै ढकालले यदि राज्यले निजी क्षेत्रलाई सहजीकरण गरेर लगानीको वातावरण बनाउन सक्यो भने राज्यले त्यहाँबाट हुने रोजगारी सृजना, कर तथा राजश्व संकलन तथा अन्य भौतिक पूर्वाधारको निर्माणबाट पर्याप्त फाइदा लिन सक्ने बताए ।

आयोजनाका संस्थापक सदस्य रमेश शर्माले लामो समयको प्रतिक्षापछि आयोजनाले गति लिएकोमा खुशी व्यक्त गर्दै आयोजना समयमै पुरा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्