गुल्मीदरबार गाउँपालिकामा ८७ वर्षका जेष्ठ नागरिकहरु लाइ फाइबर सिरक



गुल्मी,फागुन १ । गुल्मीदरबार गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गरेको छ । गाउँपालिका भित्र रहेका ८७ वर्ष उमेर कटेका १ सय जना जेष्ठ नागरिकहरुलाई जाडो र गर्मीको समयमा समेत प्रयोग गर्न मिल्ने फाइबर सिरक प्रदान गरेको गुल्मीदरवार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्र्तगत १ लाख रुपैयाँको बजेटबाट जेष्ठ नागरिकहरुलाई फाइबर सिरकले सम्मान गरिएको हो । त्यस्तै गाउँपालिकाबाट ८४ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको घरघरमा स्वास्थ्यकर्मीहरु गई स्वास्थ्य परीक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।

गाउँपालिकाले दम, सुगर, प्रेसर लगायतका दीर्घ रोगीहरूलाई निशुल्क औषधी वितरण गर्दै आएको छ । असक्त जेष्ठ नागरिकहरूको घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने लगायतका कार्यक्रमहरू संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

जनतासँग गाउँपालिका कार्यक्रम अन्र्तगत जेष्ठ नागरिकहरुको चासो, गुनासो, समस्या, इच्छा, आकाङ्क्क्षा सम्बन्धमा सबै वडाहरू र टोलटोलमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । गाउँपालिकाबाट गत अशोज १५ गते जेष्ठ नागरिक दिवसको अवसरमा समेत घरमा एक्लै भएको समय गित, संगित, भजन तथा समाचार सुन्नको लागि रेडियो वितरण गरेको थियो ।

आगामी आर्थिक वर्ष ०७८÷०७९ को लागि जेष्ठ नागरिक लक्षित कार्यक्रमको लागि महत्वपूर्ण सुझावहरू प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए । गाउँपालिका टोलटोलमै पुगेर जेष्ठ नागरिकहरुको चासो, गुनासो, समस्या, इच्छा सुनिदिएकोमा जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्