संसद पुनर्स्थापनाको विकल्प छैन अध्यक्ष : केसी



अर्घाखाँची,माघ ३० । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद पुनर्स्थापनाको विकल्प नभएको बताएका छन् । शुक्रबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै दुई तिहाई बहुमतको समर्थन पाएको संसद् विघटन गर्नु अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै बिघटित संसद पुनर्स्थापना हुनुपर्नेमा जोड दिए । केसीले नेकपाको आन्तरिक खिचतानीका कारण देशलाई भड्खालोमा हाल्न खोजिएको भन्दै त्यसो गरीए देश प्रतिगमन तर्फ जाने निश्चित भएको बताए ।

संविधानको रक्षक राष्ट्रपति बिद्यादेबि भण्डारीले समेत ओलीको असंवैधानिक कदममा साथ दिएको केसीको आरोप रहेको छ । राष्ट्रपतिले असंवैधानिक कदमलाई रोक्न नसकेको कारण राजनैतिक अस्थिरता आएको भन्दै केसीले जनताले स्थायी सरकारका लागि समर्थन दिएको भएपनि ओलीले जनमत माथि कुठाराघात गरेको आरोप लगाए । केसीले ओलीले चालेका प्रतिगामी कदमलाई असफल पार्न संयुक्त आन्दोलनको विकल्प नभएको समेत दावी गरे ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले एउटा सरकार चलाउन नसक्नेहरुले ८/८ वटा सरकार चलाउन खोज्नु मुर्खता भएको बताए । केसीले संघीयता नेपाली जनताले थेग्न नसक्ने प्रष्ट पार्दे संघीयता खारेजी गर्नुपर्नेमा जोड दिए । उनले पछिल्लो समय देशमा भ्रष्टाचार र बलात्कारका घटना बढिरहेपनि ओली सरकार भने आरोपप्रत्यारोपमा लागेको बताए ।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता,सचिब बाबुराम पन्थी सुनारको सञ्चालन र उपाध्यक्ष गोपाल पौडेलको स्वागत मनतब्यमा सम्पन्न कार्यक्रममा राजमो केन्द्रीय सदस्य मनोज भट्ट,राजमो नेताहरु शेरबहादुर बिसी,झबिलाल थापा,सागर केसी,पशुपति ढकाल,कल्पना पोख्रेल लगायतले मन्तव्य राखेका थिए ।

बिरोध सभा पूर्व सुरु भएको जुलुसले चुत्राबेसी र सन्धिखर्क बजार परिक्रमा गरेको थियो कार्यक्रममा रक्तिम सांस्कृतिक परीवारका कलाकारको प्रस्तुति समेत रहेको थियो ।

यसअघि शुक्रबार बिहान प्रगतिशिल पत्रकार संघ नेपाल अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा पत्रकार सम्मेलन पनि सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्