नेकपाको फागुन ८ गते प्रदेशस्तरीय जनसभा



काठमाडौँ ,माघ ३० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमसत्ताको रक्षा र ताजा जनादेशका पक्षमा सन्देश दिन आगामी फागुन ८ गते विराटनगरमा प्रदेशस्तरीय जनसभाको आयोजना गर्ने भएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने सभामा प्रदेशका १४ जिल्लाबाट सहभागिता हुने नेकपाको प्रदेश नं १ प्रदेश कमिटीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको श्रोतले जनाएको छ । देशको विकास, समृद्धि र राजनीतिक स्थायित्व, सुदृढ लोकतन्त्रका लागि सभाको आयोजना गर्न लागिएको नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतमले बताए ।

गौतमका अनुसार फागुन ६ गते सुनसरीको इटहरी र मोरङको विराटचोकलाई मूल केन्द्र मानेर १० हजारको सहभागितामा मोटरसाइकल र्यालीको आयोजना गर्ने, फागुन ७ गते बिहान विराटनगर, इटहरी, धरान, इनरुवा, विराटचोक, दमक, विर्तामोडमा युवाको आयोजनामा प्रभातफेरी गरिने बताए ।

जनसभालाई भव्य बनाउनका नेकपा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा एक हजार १११ सदस्यीय समिति निर्माण गरिएको छ । केन्द्रीय सदस्य गौतम र अर्का केन्द्रीय सदस्य तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की उपसंयोजक रहेको प्रचारप्रसार कमिटीसमेत गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्