बुटवलमा एकसाथ दुई केबलकार निर्माण सुरु



बुटवल,माघ ३० । बुटवलमा एकै पटक दुईवटा केबलकार निर्माणको प्रक्रिया सुरु भएको छ । ती दुवै केबलकारको आधार (बेस) स्टेसन बुटवलमा छन् भने अन्तिम स्टेसन पाल्पामा रहने छ । लुम्बिनी केबलकार प्रालिले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकार निर्माण गर्दैछ भने सिद्धबाबा केबलकार प्रालिले बुटवल पश्चिम फूलबारी क्षेत्र नजिकबाट पाल्पाको नुवाकोट गढीसम्म केबलकार निर्माण गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबलकार प्रालिले निर्माण गर्ने केबलकारको शनिबार शिलान्यास गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ । सिद्धबाबा केबलकार प्रालिले भने गत सातादेखि नै निर्माणको काम सुरु गरिसकेको छ ।

सिद्धबाबा केबलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले सबै प्रक्रिया पूरा गरी निर्माणको काम सुरु भइसकेको जानकारी दिए । बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारीमा बेस स्टेसन र पाल्पाको नुवाकोटगढीमा अन्तिम स्टेसन रहने जानकारी उनले दिए ।सिद्धबाबा केबलकारको लम्बाइ एक किलोमिटर ९५ मिटर रहेको र लागत ८० करोड रुपियाँ आकलन गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

यो समूहले नुवाकोटमा अत्याधुनिक रिसोर्ट निर्माण गरिरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छवि पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्