लमजुङको दोर्दीमा जीप दुर्घटना, ३ जनाको मृत्यु



लमजुङ, माघ ३० । जिल्लाको दोर्दी गाउँपालिकाको चौताराडाँडामा जीप दुर्घटना भएको छ। बिहीबार साँझ भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को कर्मचारी लिएर प्रदेश ३–०१–०२२ च १३८३ नम्बरको जीप बिहीबार साँझ सवा पाँच बजे ताँजेतर्फ जाँदै गर्दा भीरबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा आयोजनामा कार्यरत  दुई जना इन्जिनियर र जीप चालकको घटनास्थलमै मृत्यु भएको डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुनेमा सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ मा कार्यरत स्याङ्जा घर भएका ३४ वर्षीय इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ वर्षीय इन्जिनियर जयप्रकाश लौडारी र जीप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई रहेका छन् । घाइते हुनेमा इन्जिनियर सुनिलकुमार साह,स्थानीय अमरज्योति आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ वर्षीया अनु घले र कक्षा ६ मा अध्ययनरत १५ वर्षीया सुसना विक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्