विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान – राष्ट्रपति भण्डारी
काठमाडौँ,माघ ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएकी छन् । सोनाम ल्होसार, २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको स्पष्ट पारेकी छन् ।
सन्देशमा राष्ट्रपतिले भनकी छन्, “यस्ता पर्वले हाम्रा मौलिक संस्कृति प्रवद्र्धन गर्न, सामुदायिक ऐक्यबद्धता एवं सामाजिक सद्भाव अभिवृद्धि गर्न र बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।” यस पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।
चन्द्र पात्रोअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने यस पर्वमा तामाङ समुदायले कूल पूजा, प्रकृति पूजा र बुद्ध शिक्षाको स्मरण गर्नाका साथै आफन्तजन भेला भई भोजन एवं मनोरञ्जन गर्दै आपसमा खुशी आदानप्रदान गर्ने प्रचलन रहिआएको छ ।