कर्णाली करिडोर जोड्ने पक्की पुल बन्दै



काठमाडौँ,माघ २९ । कर्णाली करिडोर जोड्ने कालिकोटको नरहरिनाथ गाउँपालिका–८ मा रहेको खुलालुको पक्की पुलको निर्माण तीव्रगतिमा भइरहेको छ ।

कर्णाली राजमार्गबाट गौरवको आयोजनाका रूपमा मानिएको कर्णाली करिडोर जोड्ने खुलालु पक्की पुलको शिलान्यास गरेको १४ वर्षपछि पुल निर्माणले गति लिएको हो । दुईपटक शिलान्यास भएको पुल एक दशक बित्दासम्म निर्माणकार्यले तीव्रता पाउन सकेको थिएन । एक दशकपछि अलपत्र पुलको आगामी असारसम्म निर्माण सम्पन्न गरिसक्ने पुल निर्माणको जिम्मा पाएको प्रगति कन्काई नेपाल प्रालिले जनाएको छ । सडक डिभिजन कार्यालय जुम्लाले निर्माण कम्पनीलाई पुल निर्माणको नक्शा नदिँदा अलपत्र परेको निर्माण कम्पनीका प्रतिनिधि दीपक मैनालीले बताउनुभयो ।

“नक्शा पाइसकेपछि विसं २०७४ देखि निर्माण शुरु गरेका थियौँ”, उहाँ भन्नुभयो , “कर्णाली नदीको पानी कम भएपछि हिउँदको छ महिना काम हुने, वर्षामा पानी बढेर काम गर्न सकिएन त्यसकारणले पनि निर्माणमा ढिलाइ भयो ।” पुलको लागत रु १६ करोड बढी रहेको र कोरोना भाइरसका कारणले देशमा लकडाउन नभएको भए गत साउनमै निर्माण सम्पन्न गरिसक्ने निर्माण कम्पनीका प्रतिनिधि मैनालीले बताउनुभयो ।

“देशमा लकडाउन नभएको भए गत आर्थिक वर्षमै निर्माण गरिसक्ने योजना रहेको थियो”, उनले भने, “अब यस आवको असार समान्तसम्ममा निर्माण पूरा हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्