काठमाडौंको तारकेश्वर साङ्लेखोलामा हाँस र कुखुरामा बर्डफ्लु पुष्टि
काठमाडौँ, माघ २९ । काठमाडौँको तारकेश्वर नगरपालिका– स्थित साङलेखोला छापस्थित किसानको फार्ममा भएको कुखुरा र हाँसमा बर्डफ्लु पुष्टि भएको छ ।
तारकेश्वरको वडा नम्बर १ स्थित साङलेखोला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको हाँस र कुखुरामा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए ।
केही दिनअघि स्थानीय किसानले पालेको हाँस र कुखुराको नमूना त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । परीक्षणपछि हिजो बेलुका बर्डफ्लु भएको पुष्टि भएको हो । बर्डफ्लु पुष्टि भएसँगै ‘र्यापिड रेस्पोन्स टिम’ ले एक हजार ४०० हाँस र ६५ कुखुरा नष्ट गरिएको बताइएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्ने काम भइसकेको प्रमुख रायले जानकारी दिए ।
केही दिनअघि तारकेश्वर– ७ स्थित साङ्लेखाला, फटुङका किसानले पालेका टर्की हाँसमा समेत बर्डफ्लु पुष्टि भएको थियो ।