नेकपा नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारी, के छ कानुनी व्यवस्था ?



काठमाडौ, माघ २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । झाक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि झाक्रीको निवासमा भेला भएका नेकपा कार्यकर्ताले नारावाजी चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए । नेतृ रामकुमारी झाँक्रीले भने लोकतन्त्रको रक्षाका लागि आफूहरुको आन्दोलन जारी रहेको बताएकी छन् ।

उनले आफू राज्यको कानून मान्ने जिम्मेवार नागरिक भएकोले गिरफ्तारी दिन लागिएको बताइन् ।

आफूलाई नियन्त्रणमा लिन घरमा पुगेको प्रहरीले पक्राउ पुर्जी बुझाए लगत्तै गिरफ्तारी दिनु अघि उनले आफ्ना समर्थकलाई सम्बोधन गरेकी हुन् । उनले प्रहरीको हाते माइकबाटै सम्बोधन गरेकी छन् ।

राज्यविरुद्धको कसुर दफा ५८ बमोजिम पक्राउ पुर्जी दिइएको अनेरास्ववियुकी नेतृ आरती लामाले बताइन् ।

नेतृ झाँक्रीलाई बयानका लागि महानगरीय अपराध महाशाखा,मीनभवन ल्याइएको छ ।

के छ राज्यविरुद्धका कसूर अन्तर्गत दफा ५८ मा  ?

राज्यविरुद्धका कसूर अन्तर्गत दफा ५८मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुनेः उल्लेख छ । दफा ५८ को उपदफा १ बमाेजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुने व्‍यवस्‍था छ ।

५८. राष्ट्रपति वा संसदलाई धम्की दिन नहुनेः

(१) कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “संसद” भन्नाले नेपालको संविधान बमोजिमको सङ्घीय संसद र प्रदेश सभा सम्झनु पर्छ र सो शब्दले व्यवस्थापिका–संसदलाई समेत जनाउँछ ।

५९. हदम्यादः (१) दफा ४९, ५०, ५१, ५२, ५३ र ५७ अन्तर्गतका कसूरमा जहिले सुकै पनि उजुर लाग्न सक्नेछ ।

(२) उपदफा (१) मा उल्लिखित दफा बाहेक यस परिच्छेद अन्तर्गतका अन्य दफा अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको थाहा पाएकोे मितिले दुई वर्ष नाघेपछि उजुर लाग्ने छैन ।

प्रतिक्रिया दिनुहोस्