भागरथी हत्या प्रकरणः आफन्तदेखि साथीसम्म निगरानीमा,‘टेक्निकल’ र ‘म्यानुअल’ विधिबाट अनुसन्धान हुँदै



काठमाडौं,माघ २८ । बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको हत्याको अनुसन्धानका लागि प्रहरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको छ ।

२१ पुसमा विद्यालयबाट घर फर्कने क्रममा हराएकी उनको बिहीबार लवदेव सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । उनको शवको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि ‘टेक्निकल’ र ‘म्यानुअल’ विधि प्रयोग गरिरहेको बताएको छ ।

जसअनुसार घटनास्थलमा फेला परेको भागरथीको यौनांगबाट ‘भेजिनल स्वाब’ निकालेर परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ । यस्तै घटनास्थलमा फेला परेका अन्य सबुत प्रमाणसमेत प्रहरीले अनुसन्धानका लागि पठाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले शवबाट निकालिएको भेजिनल स्वाब, घटनास्थलमा फेला परेका सबुत प्रमाण र शंकास्पद व्यक्तिको कपडासमेत परीक्षणका लागि पठाइएको जानकारी दिए ।

‘शवबाट निकालिएको भेजिनल स्वाब, घटनास्थलमा फेला परेका सबुत प्रमाण र सस्पेक्टेड व्यक्तिका कपडासमेत परीक्षणका लागि पठाइएको छ । टेक्निकल’ र ‘म्यानुअल’ विधिबाट प्रहरीले अनुसन्धान जारी राखेको छ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका एसएसपी सिंहले राजधानीसँग भने ।

प्रहरीले हत्याको अनुसन्धानका लागि दुई दर्जन व्यक्तिलाई सोधपुछ गरेको र अनुसन्धानको दायरामा राखेको समेत उनले जानकारी दिए । तर उनीहरूलाई प्रहरीले नियन्त्रणमा भने लिएको छैन ।

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा चिनजानका, नजिकका आफन्त, स्कुलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही दिनयता रहेका व्यक्ति, घटना हुँदा घटनास्थल हुँदै हिँडेका व्यक्ति, सवारी साधन र त्यसनजिक सम्पर्क भएका फोन र भागरथीको फोनलाई समेत अनुसन्धानको दायरामा ल्याएको जनाएको छ ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नारायण अधिकारीको कमान्डमा सुरुदेखि नै प्रहरी टोली परिचालित छ । यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट एसएसपी जनकराज पाण्डे नेतृत्वको टोलीसमेत खटिएको छ ।

यसैगरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले समेत घटनाको अनुसन्धान गरिरहेको छ भने घटनाको सूक्ष्म अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरसमेत प्रयोग गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीसमेत आइतबारदेखि नै बैतडीमा नै छन् ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार भागरथीको कपडा च्यातिएको, शरीरमा नीलडाम, घाउ, घाँटी निमोठेको पाइएको छ । शवको प्रकृति हेर्दा भागरथीले अपराधीसँग संघर्ष गरेको देखिएको अनुसन्धानमा संलग्न अधिकारीको दाबी छ ।

विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएकी भागरथी लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । उनी घरमा आमा एक्लै रहेको भन्दै साथीहरूबाट बिदा भएर स्कूलबाट घर जान भनी हिँडेकी थिइन् ।

शव अस्पतालमै

मृत भेटिएको ६ दिन बितिसक्दा पनि भट्टको शव जिल्ला अस्पताल बैतडीको शवगृहमै राखिएको छ । मृतक भट्टको परिवारले दोषी पत्ता नलागेसम्म नबुझ्ने अडान लिएकाले शव अस्पतालमै रहेको हो ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्