गुल्मीमा २ लाख १२ हजार मतदाता, ९ वटा मतदान स्थल थप



गुल्मी,माघ २५ । गुल्मीमा २ लाख १२ हजार ९४९ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनपश्चात मृत्यु भएका मतदाताको सङ्ख्या यसमा घटाइएको छैन् । जिल्लामा ०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा १ लाख ९६ हजार ३४२ मतदाता रहेका थिए ।

अहिले सम्बन्धित पालिकामा मतदाता नामावलीमाथि अध्यावधिक गर्ने, विरोध तथा त्रुटि सच्याउने काम भइरहेकोले भने यकिन मतदाता सङ्ख्या आउन भने केही समय लाग्ने जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी श्यामलाल पाण्डेले बताए ।

अघिल्लो निर्वाचनभन्दा अहिले १६ हजार ६०७ जना मतदाता थपिएका छन् । ०७४ मा १ लाख ९६ हजार ३४२ मतदाता रहेकोमा एक लाख एक हजार ६६१ जना महिला, ९४ हजार ६८० पुरुष तथा १ जना तेस्रो लिङ्गि रहेका थिए ।

निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख पाचँ हजार ४२५ मतदाता थिए भने क्षेत्र नम्बर २ मा ९० हजार ९१७ मतदाता रहेका थिए ।

९ वटा मतदान स्थल थप

जिल्लामा निर्वाचनको लागि ९ वटा नयाँ मतदान स्थल थप गर्न जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले सिफारिस गरेको छ । जसअन्तरगत रेसुङ्गा नगरपालिका वडानम्बर ७ र १० मा, धुर्कोट गाउँपालिका वडानम्बर २ र ३ मा, सत्यवतीमा वडानम्बर ३ मा दुईवटा, गुल्मीदरबार गाउँपालिकाको वडानम्बर १ मा थप गर्ने निर्णय भएको छ ।

त्यस्तै चन्द्रकोट गाउँपालिकाको वडानम्बर४ र ७ मा, एक÷एकओटा केन्द्र थप गर्न सिफारिस गरिएको पाण्डेले बताए । यसभन्दा अगाडी १३८ मतदान स्थल रहेका थिए । अहिले सिफारिस गरिएका स्थल स्वीकृत भए जिल्लामा कुल मतदान स्थलको सङ्ख्या १४७ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्