प्रदेश १ सभा आज : सत्तापक्ष बैठक बस्न नदिने रणनीतिमा



काठमाडौ,माघ २५ । प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । तर, नेकपा विवादका कारण सदनको नियमित कार्य सञ्चालनमा अप्ठ्यारो देखिएको छ ।

सरकार पक्षले कार्यव्यवस्था परामर्श समितिले आफ्नो पक्षबाट निलम्बित सांसद्को विषयमा के गर्ने भन्ने टुंगो नलगाए सदन चल्न नदिने तयारी गरेको छ । मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेताको हैसियतमा कारबाही गरेका नेकपा प्रचण्ड–नेपाल समूहका सांसद् भीम आचार्य, जीवन घिमिरे, इन्द्र आङ्बोसहितका १६ जना सांसदलई बैठकमा बस्न दिए नियमापत्ति गर्ने र सदनको कारबाही अघि बढ्न नसक्ने प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए ।

नेकपा विवादसँगै एकले अर्कोलाई कारबाही गरी त्यसको लिखित जानकारी प्रदेशसभालाई गराउने काम दुवै समूहबाट भएका छन् । प्रचण्ड–नेपाल समूहले पनि मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी दलको नेता र मुख्यमन्त्रीमा नेता भीम आचार्यलाई प्रस्ताव गरेको छ । उक्त समूहले पनि ओली समूहतिरका सांसद्लाई कारबाही गरिएको जनाएको छ ।

बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव टेबुल गर्ने तयारी थालिएसँगै सत्तापक्ष भने संशकित देखिएको छ । विपक्षी दलले समेत समर्थन गरे अविश्वास प्रस्ताव पारित हुने भएकोले सके संसद् बैठकमै अवरोध गर्ने सत्तापक्षीय सांसद्को तयारी देखिन्छ । प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की भन्छन्, “पार्टीको विवाद संसद् बैठकमा ल्याइनु हुन्न भन्ने हाम्रो स्पष्ट अडान छ । प्रदेशसभालाई निर्वाध सञ्चालन हुन दिनुपर्छ । जे हुन्छ, प्रदेशसभा बैठकबाटै हुन्छ ।” कार्कीले नेकपाको विवादका कारण संसद्को कारबाही सञ्चालनमा अवरोध नगर्न आफूहरुले समेत आग्रह गरेको बताए ।

प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी आज दिउँसो २ बजेका लागि बैठक बोलाएको छ । बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक छ । यही माघ ७ गते सुरु भएको प्रदेश–१ संसद्को हिउँदे अधिवेशन जम्मा ३ मिनेट मात्र चलेको थियो । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको शुभकामना सन्देश पढेर बैठक स्थगन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्