बैतडीमा १७ वर्षीया किशोरी जङ्गलमा मृत अवस्थामा फेला, शरीरभरि निलडाम



बैतडी,माघ २३ । बैतडीको जङ्गलमा एक किशोरी मृत फेला परेकी छन् । बिहीबार साँझ उनी किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी हुन् । मृत भेटिएकी युवती जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट रहेको प्रहरीले जनाएको छ । युवतीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले बताए ।

बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको छ । उनले भने, “मृतकको शरीरभरि निलडाम र घाउ रहेका छन्, कपडा पनि च्यातिएको अवस्थामा छन् ।”

ती किशोरी बुधबार विद्यालयमा उपस्थित रहेकी र त्यसपछि घटना भएको हुनसक्ने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथको भनाइ छ । उनले भने, “घटना हुनु निकै दुःखद् छ, घटनामा संलग्नलाई आवश्यक कारवाही हुनुपर्छ ।”

घटनास्थलकै प्रकृति हेर्दा शङ्कास्पद रहेको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोती बमले जानकारी दिए । उनले भने, “बीच जङ्गलमा शव फेला परेको छ, कपडा खोलेको अवस्थामा छ, थप कुरा अनुसन्धानपछि थाहा होला”, घटनास्थललाई सुरक्षित पारिएको खोचलेक प्रहरी चौकीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्