दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु



दमक,माघ २२ । झापाको शिवसताक्षीमा बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम लोकमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–११ झरना पुलस्थित सडकखण्डमा साँझ ६ः४० बजेतिर उक्त सवारी दुर्घटना भएको हो। सो सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख १९८० नं को बसलाई विपरीत दिशाबाट आउँदै गरेको बा५६प २९५८ नंको मोटरसाइकलले ठक्कर दिँदा त्यसका चालक शिवसताक्षी–११ का ४० वर्षीय पूर्ण कडरियाको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार दुर्घटनाबाट गम्भीर भएका कडरियाको उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा गए राति नै मृत्यु भएको थियो । दुर्घटनामा मृतकसँगै सवार सोही ठाउँका २८ वर्षीय शङ्कर तामाङको बिएण्डसी अस्पतालमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

प्रहरीले दुर्घटनामा संलग्न बस र चालक मेचीनगर नपा–६ बस्ने ५० वर्षीय मानबहादुर रसाइलीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्