भारतमा ४५ लाखले लगाए काेराेनाविरूद्धकाे खाेप



एजेन्सी,माघ २२ । भारतमा गत जनवरी १६ लगाउन शुरू गरिएकाे काेराेनाविरूद्धकाे खाेप अहिलेसम्म ४५ लाखभन्दा बढीले लगाएका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मी रहेकाे समाचारमा जनाइएको छ ।

कोरोना भाइरस संक्रमितकाे संख्या बुधबारसम्म एक करोड सात लाख ९० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ८९९ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको सङ्ख्या एक करोड सात लाख ९० हजार १८३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण १०७ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ७०३ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड चार लाख ८० हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ५५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार १५० जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र ६ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस संक्रमणका कारण दिल्लीमा १० हजार ८६४ को मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्