सिन्धुपाल्चोक भोटेकोसीको एकै वडामा ठडिए ११ एकिकृत बस्ती



सिन्धुपाल्चोक,माघ २१ । पूर्वाधार निर्माणमा सहज र आकर्षक समेत देखिने भएपछि भूकम्पपछि सिन्धुपाल्चोकमा सुरु भएको एकिकृत बस्ती निर्माणले तीब्रता पाउँदा एकै वडामा ११ बस्ती निर्माण भएको छ । जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिकाको वडा नं. ५ स्थित मार्मिङ गाउँमा ११ एकिकृत बस्ती निर्माण भएको हो ।

भूकम्पपछिको पुनर्निर्माणमा सहजता ल्याउन सिन्धुपाल्चोकको मेलम्चीस्थित गिरानचौरमा धुर्मुस सुन्तलीले एकिकृत बस्तीको अवधारणा पहिलोपटक ल्याएका थिए । सो बस्तीको प्रभावकारिताबारे चर्चा चुलिदैं गएपछि जिल्लामा २९ बस्तीको निर्माण सुरु गरिएको थियो । मार्मिङको ११ बस्तीसहित २३ वटा बस्ती निर्माण सम्पन्न भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन ले जनाएको छ । इकाई प्रमुख सन्तोषकुमार निरौलाले बाँकी रहेका बस्तीहरुको निर्माण अन्तिम चरणमा पुगेकाले छिट्टै सबै बस्ती निर्माणले पूर्णता पाउने बताए ।

मार्मिङमा निर्माण भएको ११ मध्ये ९ बस्तीमा रहेका घरहरुमा एकरुपता नभएको उनको भनाई छ । यहाँ रहेका १० घर धुरीको राउत टोल एकिकृत बस्ती र २३ घर धुरी रहेको ट्यांगथली एकिकृत बस्तीमा रहेका घरहरु मात्रै समान छन् ।

गाउँमा पूर्वाधार निर्माण र अन्य विकास निर्माणको काममा सहजता हुने भएकाले एकिकृत बस्ती निर्माण सुरु गरेको बस्ती स्थापनामा अगुवाई गरेको समृद्ध नेपाल संस्थाका अध्यक्ष कुमार राउतले जानकारी दिए । ‘जिविकोपार्जन र पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने गरी हामीले बस्तीको डिजाइन गरेका छौं,’ राउतले भने ।

एकिकृत बस्ती निर्माणपछि प्राधिकरणले पूर्वाधार निर्माणमा प्रति घर तीन लाखका दरले अनुदान दिने भएकाले पनि बस्ती निर्माणमा उत्साह थपिएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए । मार्मिङमा मात्रै तीन सय ६० परिवार एकिकृत बस्तीमा समेटिएका छन् । जिल्लाभर एक हजार एक सय ७७ परिवार एकिकृत बस्तीमा समेटिएको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्