नुवाकोटमा बसको ठक्करबाट प्रहरीको ज्यान गयो



नुवाकोट,माघ २० । नुवाकोटमा बसको ठक्करबाट एक प्रहरीको ज्यान गएको छ। नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेमा वसको ठक्करबाट शसस्त्र प्रहरीको ज्यान गएको हो ।

मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारका १९ वर्षिय दिनेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार मंगलबार बिहान ६ बजे नुवाकोटको त्रिशुलीबाट काठमाण्डौतर्फ जान लागेको ग १ ख ८८९८ नम्बरको नमस्ते पासाङल्हामु यातायात समितिको बसले उनलाई ठक्कर दिएको थियो।

बसले ठक्कर दिएर घाइते भएका तामाङको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घटनापछि चालक र वसलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्