वातावरण साहित्य : आजको आवश्यकता
विजय हितान
साहित्यका थुप्रै पाटाहरु छन्, त्यसमध्ये वातावरण साहित्य पनि एक हो । नेपाली साहित्यमा सामाजिक तथा राजनीतिकजस्ता मानवकेन्द्रित परिवेशका विषयवस्तुको मात्रै चर्चा गरेको पाइन्छ । तर वातावरण सम्बन्धीका कथावस्तुलाई खासै महत्व दिइएको हुँदैन । यद्यपि वातावरण साहित्यले सिङ्गो पृथ्वी, पृथ्वीमा रहेका सजीव तथा निर्जिव वस्तु र तिनीहरुको अन्तरसम्बन्धको व्याख्या गर्ने गर्छ ।
जसरी हाम्रो परम्परागत साहित्यले मानव सभ्यता विकासमा ठूलो योगदान पुर्याइआएको छ । त्यसरी नै वातावरण साहित्यले वातावरणीय क्षयबाट मानव अस्तित्व जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । त्यसैले अब वातावरण साहित्यको बिरुवा रोपेर मलजल गर्दै झाँगिलो वृक्ष बनाउनुपर्ने आजका साहित्यकारहरुको दायित्व भएको छ ।
वातावरणका प्रमुख तत्वहरु वायुमण्डल, जमिन र पानी हुन् । यिनैमा मानव, वन्यजन्तु र बोटबिरुवाको जीवन निर्भर गर्दछ । वातावरण, वन्यजन्तु, र वनस्पती मानिसका लागि प्राकृतिक स्रोतसाधन हुन्, जसलाई मानिसले अतिक्रमण र जथाभावी उपभोग गर्दै आएको छ । मानवको सेवामा सधैं उपलब्ध यी स्रोतहरुको नवीकरण आफैं हुने गर्दछ तर मान्छेले कदापी भुल्न भएन कि तिनीहरु असीमित छैनन्, कुनै दिन रित्तिन सक्छन् ।
मानवीय अस्तित्व जोगाइराख्न स्वस्थ पृथ्वीको खाँचो परिरहन्छ । तर मानिसको स्वार्थनिहित क्रियाकलापले प्रकृतिको सन्तुलन गुम्न लागेको छ । जमिनमुनिबाट जलभण्डारको मुल फुट्न छोडेको छ भने हिमालमा हिउँको तह पातलिँदै गर्दा नदीहरु सुक्न थालेका छन् । रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले पहाडका पाटा र मधेशका गराहरुको उर्वरा शक्ति घटेको छ । ताल, खोला र समुद्रमा माछाको सङ्ख्या घट्दै आएको छ । बाग, भालु, गैँडा, चिम्पान्जी, हात्तीजस्ता वन्यजन्तु लोपोन्मुख बनेका छन् । पानी, हावा र जमिन प्रदूषित बन्दै आएका छन् । वायुमण्डल तात्दै आइरहेको छ । भूमध्यरेखीय वनजङ्गलको विनाश द्रूत गतिमा भइरहेको छ । जैविक विविधतामा ह्रास आइरहेको छ । अन्ततः सबै सचेत व्यक्तिलाई यो एउटा ठूलो चिन्ताको विषय बनेको छ ।
यसैले विद्यार्थी, राजनेता, कृषक, व्यवसायी सबैको सहकार्य जरुरी छ । त्यसैगरी साहित्यकारले पनि केही गर्नुपर्ने आवश्यकता देखिन्छ । वैज्ञानिकले विज्ञानका सत्यतथ्य पत्ता लगाएका छन् । वातावरणविदले तिनलाई कार्यान्वयन गर्न प्रयास गरेका छन् । साहित्यकारले पनि यस विषयमा कलम चलाएर समाजमा जनचेतना फैलाउने कार्य गर्न सक्छन् ।
कलम शक्तिवान हुन्छ । समाजमा ठूलाठूला परिवर्तन गराउनमा यसको ठूलो हात हुन्छ । साहित्यको सहायताले निरङ्कुश शासन पल्टेको छ । छुवाछुत, रङभेदजस्ता सामाजिक कुरुति र भेदभावलाई निमिट्यान्न पारिएको त सबैलाई विदितै छ । अब इको साहित्यको माध्यमबाट पनि पर्यावरणीय समस्या जनतामाझ लैजाने, मानिसको क्रियाकलाप वातावरणमैत्री बनाउने र यस हराभरा पृथ्वीलाई हाम्रा सन्ततिमाझ जस्ताको तस्तै हस्तान्तरण गराउन सकिन्छ ।
नेपाली साहित्य लेखनहरु धेरैजसो मानवीय जीवनवरिपरि मात्रै केन्द्रित छन् । कतैकतै प्रकृतिको सुन्दरता हरियो वन, छङछङ छहरा, कोइलीको गीत, डाँफेको नाच इत्यादिमा कविता तथा कथा कोरिएको, गीत लेखेर गाइएको पाइन्छ । हिमरेखा किन झन् माथि चढ्दै छ ? बाघ, भालु, गैँडा किन लोप हुँदै छन् ? पोखरी र खोला किन दूषित हुँदै छन्, ? तिनलाई सम्बर्धन र संरक्षण किन र कसरी गर्नुपर्छ भन्ने विषयमा कलम चलेको बिरलै पाइन्छ ।
निरङ्कुश शासनको विरुद्धमा कलम उठाइयो । अब जलवायु परिवर्तनको विरुद्धमा कलम उठाउन जरुरी छ ।
छङछङ गर्ने झरना र चाँदीझैँ टल्कने क्या राम्रा झरना र हिमाल भनेर गीत लेखियो । अब सुक्दै गरेको झरना, पग्लिँदै गरेको हिमाल, लोपोन्मुख हिउँ चितुवा, बासस्थान गुमाउँदै गरेको उत्तरी ध्रुवको भालु, एन्टार्टिकाको पेनगुइनको पनि गीत लेख्न जरुरी छ ।
आफ्ना मानिसहरु दुर्घटनामा परेका कथाहरु लेख्ने कथाकारले अब आणविक दुर्घटना, सामुद्रिक प्रदूषण र बाढीपहिरोजस्ता प्राकृतिक प्रकोप र त्यसमा प्राण गुमाएका वन्यजन्तुको पनि कथा लेख्न आवश्यक देखिन्छ ।
कसैले घर आगोले डढाएर घरविहीन भएका मानिसको गाथा लेख्छ भने कसैले वन डढेलो लागेर बासविहीन बनेका पशुपक्षीको पनि गाथा लेखौँ न ।
शक्ति हत्याउन र स्वर्थ पूर्तिका लागि छेडिएको युद्धले विस्थापित बनेका शरणार्थीको कहानी जति करुण हुन्छ त्योभन्दा बढी मन छुने जथाभावी वस्ती बसाउन र खेती गर्न मासिएका रेनफोरेस्टले गर्दा बासस्थानको नष्ट भएपछि विस्थापित वन्यजन्तुका कहानी हुन सक्छन् ।
हावाइजहाज चढ्दै आधुनिक शहर घुमेर पाँचतारे होटेलमा बसेको र रेष्टुरेन्टमा खाएपिएको विषयमा संस्मरण कोर्न जति आनन्द आउँछ त्योभन्दा बढी आनन्द हात्तीमा सवार गरेर राष्ट्रिय निकुञ्जका वन्यजन्तुको दर्शन र तम्बुमा सुतेर अर्गानिक तरिकाले उत्पादित खाना खाएका नियात्रा लेख्नमा आउँछ ।
अनि मात्रै संरक्षण गर्न सकिन्छ हाम्रो पर्यावरण । अन्यथा मानव सभ्यता ६० मिलियन वर्ष अगाडि डाइनोसर लोप भएर गएजस्तै हुन सक्छ ।
भानु स्मृतिको सँगसँगै भालु स्मृति पनि मनाऔँ । किनकि उत्तरी ध्रुवका हिउँभालु लोपोन्मुख अवस्थामा छन् ।
मोती दिवस मात्रै होइन माटो दिवस पनि त्यत्तिकै छ । किनकि भूक्षय र रासायनिक मलको प्रयोगले माटोले उर्वराशक्ति गुमाएको छ ।
पृथ्वी (नारायण) जयन्ती मनाइँदा पृथ्वी (ग्रह) जयन्ती पनि मनाऔँ ।
भुखको मात्रै कति अब रुखको पनि कथा लेखौँ ।
घोडा चढेर गाउँ डुल्ने मालिकको साहित्य लेखेर थाकिएन र ? अब साइकल चढेर कवाडी सङ्कलन गर्नेको पनि साहित्य लेखौँ ।
नदीनाला, सामुद्रिक तट, गल्ली र पार्क सरसफाइ, वृक्षारोपण वातावरणीय समस्याहरु र तिनलाई कसरी सुल्झाउन सकिन्छ इत्यादि विषयमा कथा लेख्ने, कविता पढ्ने, गीत गाउने, नाटक खेल्ने, चित्रकला तथा फिल्म प्रदर्शन गर्ने गरेर मनाऔँ अब साहित्य गोष्ठी ।
यसरी वातावरण साहित्यलाई अस्वीकृत विचार साहित्य, भयवाद, सिर्जनशील अराजकताजस्तै कुनै वादको रुप दिएर एक आन्दोलन बनाई अगाडि बढाउँदा अझ प्रभावकारी हुनसक्ने सम्भावना देखिन्छ ।
वातावरण साहित्य त्यति नौलो विषय भने होइन । लामो समयदेखि कुनै न कुनै रुपमा लेखिँदै आएको विषय हो । मुख्य चुनौती भनेको सर्जकले वातावरण क्षयका कारक र परिणामको सिद्धान्त, यसको व्यावहारिक पक्ष र महत्व, सुधारका उपाय बुझ्न जरुरी छ । यसको सम्बन्ध अलिकति वैज्ञानिक कारणसँग सम्बन्धित भएकाले लेखकमा वैज्ञानिक ज्ञान भइदिएमा उत्तम हुन्छ । विज्ञानको समिश्रणले गर्दा वातावरण साहित्य नेपाली मूलधारको साहित्यमा अँगाल्न नसकिएको हो ।
वातावरण एक फराकिलो धरातल भएकाले लेखनका प्रशस्तै अवसर पाइन्छन् । यसले विश्वदेखि वायुमण्डल, जमिनमुनिको पानीदेखि आकाशमाथि बादल, कमिलादेखि हात्तीजस्ता प्राणी, घिस्रने जन्तुदेखि उड्ने पक्षी, निर्जीव ढुङ्गामाटोदेखि सजीव सर्पजस्ता विषयलाई समेट्छ ।
त्यसरी नै शहरजस्ता भौतिक संरचनादेखि आणविक भट्टीको रासायनिक प्रतिक्रिया, शीतल जूनदेखि चर्को घाम, शान्त तलाउदेखि उर्लंदो समुद्र, मन्द हावादेखि बहकिने आँधीबेहरी लेखनका विषय बन्न सक्छन् । घाँसे मैदान, रेनफोरेस्ट, हिमाली/ध्रुवीय हिउँ, सुख्खा मरुभूमि, ओसिलो सिमसारजस्ता कुरामा कलम दौडाएर मनका भावना पोख्न सकिन्छ । त्यसैले यस्तो साहित्यमा इन्द्रेणीका सबै रङ पोत्न र पोख्न सकिन्छ भन्दा अत्युक्ति नहोला ।
जैविक विविधतामा ह्रास प्रदूषित, जमिन, हावा/पानी, मरुभूमिकरण, जङ्गल फडानी, ओजोन क्षय इत्यादि अहिलेका जल्दाबल्दा वातावरणीय समस्या हुन् । यस्ता समस्याको उजागर गर्नु र तिनीहरुदेखि कसरी पार पाउन सकिन्छ भन्ने कुराहरु मात्रै लेख्नु होइन कि तिनीहरुको महत्व र अस्तित्वलाई बुझेर पाठकलाई बुझाउन प्रयत्न गर्नु पनि वातावरण साहित्य हो ।
पृथ्वी एक सुन्दर बगैँचा हो, मानिस यसका मालिक । तर बगैँचामा फूलहरु फुल्न र भमराहरु झुल्न छाडेका छन् । तिनको संरक्षणका लागि एउटा बलियो साहित्यिक कलम उठाउनुपर्ने बेला आएको छ । बगैँचालाई सधैँ हराभरा र जैविक विविधताले सजाइराखेर त्यसबाट आनन्द लिन र दिन पनि वातावरण साहित्यमा लाग्नुको अर्को औचित्य हुन आउँछ ।