देशलाई काठ निर्यात गर्ने अवस्थामा पुर्‍याउन वैज्ञानिक वन कार्यविधि खारेज : मन्त्री आले



काठमाडौं माघ १७ ।

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले देशलाई काठ निर्यात गर्ने अवस्थामा पुर्‍याउन वैज्ञानिक वन कार्यविधि खारेज गरेको स्पष्ट पारेका छन् ।

सरकारले गत हप्ता ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको थियो । शनिबार नेपाल फर्निचर तथा फर्निसिङ संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री आलेले वार्षिक १० देखि १२ अर्ब बराबरको काठ आयात गर्नुपर्ने अवस्थाको अन्त्य गरी काठ निर्यात गर्ने अवस्थामा पुग्नका लागि वैज्ञानिक वन कार्यविधि खारेज गरिएको दाबी गरेका हुन्।

देशका २१ हजार ७ सय ५५ वटा सामुदायिक वन र सरकारी वनबाट कसरी काठ निकाल्न सकिन्छ र काठ निर्यात गर्न सकिन्छ भन्ने सम्बन्धमा स्पष्ट नीति निर्माण गर्न लागेको पनि उनले बताए।

विगतमा सामुदायिक वनबाट पाँच हजार क्युफिट काठ निकाल्न पाउने व्यवस्था भएको तर अब बन्ने वन नियमावलीमार्फत ढलेका, सुकेका, हैसियत बिग्रेका, बाढीपहिरोबाट बगाएका काठहरू एउटा सामुदायिक वनबाट वार्षिक ५० हजार क्यूफिट निकाल्न सक्ने व्यवस्था गर्न लागेको आलेले बताए।

यसबाट वार्षिक करिब पाँच करोड क्युफिट काठ निकाल्न सकिने पनि मन्त्री आलेले दाबी गरे। वन क्षेत्रबाट काठ उत्पादन भएपछि देशलाई काठमा आत्मनिर्भर मात्र नभई निर्यात गर्ने स्थितिमा पुर्‍याउन आफू प्रतिवद्ध रहेको पनि मन्त्री आलेले दाबी गरे।

प्रतिक्रिया दिनुहोस्