भारतमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु
एजेन्सी माघ १७ ।
भारतको उत्तर प्रदेशस्थित मोरादाबाद आग्रा राजमार्गमा बस र ट्रक ठोक्किँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । १२ जना भन्दा बढी घाइते छन् ।
शनिबार बिहानको उक्त दुर्घटना बाक्लो कुहिरोका कारण भएको हुनसक्ने बताइएको छ । यसअघि पनि भारतका विभिन्न सहरमा जाडो मौसममा बाक्लो कुहिरोले सडक नदेखिनाले ठूला दुर्घटना भएका थिए।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुख व्यक्त गर्दै मृत्यु भएकाको परिवारलाई २ लाख र घाइतेहरुलाई ५० हजारका दरले आर्थिक राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।
घटनास्थलमा प्रहरी पुगेर घाइतेहरुको उद्धार गरिसकेको छ । घाइतेहरुको नजिकका अस्पतालमा उपचार भइरहेको छ । स्थानीय समय अनुसार बिहान ८ बजे मानपुर गाउँ नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।