(नेकपा)का दाजुभाइले अंशमुद्दा नहालेसम्म छुट्टिएको भन्न मिलेन : निर्वाचन आयोग
काठमाडौं माघ १६ ।
निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकताबारे कुनै निर्णय नभएको स्पष्टिकरण दिएको छ ।
शुक्रबार केपी शर्मा ओली समूहका नेताहरूसँग छलफल गरेपछि आयोगले अहिलेसम्म कुनै पक्षले आधिकारिकता दाबी गर्दै निवेदन नदिएको बताएको हो । आयुक्त ईश्वरी पौडेलेले दुबै पक्षले राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफू आधिकारिक भएको दाबी नगरेको बताए ।
‘आधिकारिताबारे कुन पक्ष भन्ने निर्णय गरिसकेको अवस्था होइन । उहाँहरूले नमागेको आधिकारिकता दिन हामीले पार्टी फुटाइदिने हो र १’, उनले भने, ‘नेकपाको दुइटा गुट भएपनि हामीलाई आधिकारिता देउ भनेर दफा ४४ को उपदफा १ अनुसार कुनै पनि गुट नआएको हुनाले आधिकारिकता दिने भन्ने प्रश्न आएन ।’
उनले ओली र प्रचण्ड–नेपाल समूहलाई दाजुभाईको संज्ञा दिँदै एकले अर्कोलाई अदालतमा मुद्दा नहालेसम्म छुट्टिएको भन्न नमिल्ने बताए । ‘दाजुभाइ झगडा गरेका छन् । एकले अर्कालाई गाली गरेको सबैलाई थाहा छ तर अदालतमा अंशमुद्दा नहालेसम्म त छुट्टिएको भन्न मिलेन,’ उनले भने ।
नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगको निर्णयपछि नेकपाको आधिकारिकतामा विवाद नरहेकाले आफूहरु नै आधिकारिक भएको बताएपछि प्रचण्ड–नेपाल समूहले आपत्ति जनाएको थियो । ‘निर्वाचन आयोगले आधिकारिताबारे टुंगो लगाइसकेको छ । त्यसैअनुसार अगाडि बढेका छौं । केही साथीहरुलाई हामी आधिकारिक हौं भन्ने लागेको छ । अब दल दर्ताको प्रक्रियामा जानुपर्छ, निर्वाचनबाट सबै टुंगो हुन्छ,’ उनले भनेका थिए ।